जनकपुरधाम– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले धार्मिक पर्यटनको सम्भावना बोकेको प्रदेश २ मा खुद्रा विकासले मात्रै पर्यटन प्रवर्द्धन हुन नसक्ने बताउनुभएको छ । उहाँले प्रदेशको पर्यटन प्रवर्द्धनका लागि एकीकृत योजना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

आज होटेल तथा पर्यटन व्यवसायी महासङ्घ प्रदेश २ ले आयोजना गरेको पर्यटन प्रवर्द्धन सम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष यादवले धार्मिक र एतिहासिक पर्यटनले विश्वभरिमै पर्यटनको ठूलो हिस्सा ओगटेकोले यस प्रदेशमा पर्यटक भित्र्याउन सकिने सम्भावना अत्याधिक रहेको बताउनुभएको छ ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले पर्यटन प्रवर्द्धनको लागि प्रदेशका मुख्य धार्मिक तथा ऐतिहासिक स्थलहरुमा विकास निर्माणको काम सुरु गरिसकेको र अगामी दिनमा एकीकृत योजना नै बनाएर अघि बढ्ने योजना अनुसार अघि बढेको पनि बताउनुभयो । कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र साहले पर्यटकीय विकासमा रकमको आभाव हुन नदिने उल्लेख गर्नुभयो ।