इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदराबादले दोस्रो जित निकालेको छ । दुबईमा सोमबार राति भएको खेलमा हैदरावादले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो । हैदराबादको जितमा डेब्यु खेलाडी जासन रोयले ६० तथा कप्तान केन विलियम्सनले अविजित रहँदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

राजस्थानका मुस्ताफिजुर रहमान, चेतन शाकरिया र महिपाल लोम्रोरले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । राजस्थानका लागि कप्तान सन्जु सामसनले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । याशभी जैसवालले ३६ रन जोड्दा महिपाल लोम्रोरले अविजित २९ रन बनाए ।

हैदराबादका सिद्दार्थ कउलले दुई विकेट लिए । अंकतालिकाको पुछारमा रहेको हैदराबादले १० खेलमा ४ अंक जोडेको छ । राजस्थान १० खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । १६ अंकका साथ चेन्नई पहिलो र दिल्ली दोस्रो स्थानमा छन् । १२ अंक जोडेको बैंगलोर तेस्रो स्थानमा छ । समान ८ अंक जोडेका कोलकाता, पञ्जाब र मुम्बई क्रमशः चौथो, पाँचौँ र सातौँ स्थानमा छन् । सबै टिमले १० खेल खेलेका छन् ।

आईपीएलमा आज कोलकाता र दिल्ली तथा मुम्बई र पञ्जाब भिड्दैछन् । कोलकाता र दिल्लीको खेल नेपाली समय अनुसार दिउँसो पौने चार र मुम्बई र पञ्जाबबीचको खेल राति पौने आठ बजे सुरु हुनेछ ।