काठमाडौं – आज विश्व रेविज दिवस । नेपालमा पनि ‘रेविज :तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ विश्व रेविज दिवस मनाइँदैछ । नेपालमा मुख्यत ः बहुला कुकुरको टोकाइबाट मानिसमा रेविज सर्ने गरेको छ, यसबाहेक बिरालो, न्याउरीमुसा र स्यालको टोकाइबाट यो रोग सर्ने गरेको छ ।

नेपालमा अर्थिक वर्ष २०७६⁄७७ मा ५२ हजार जनालाई कुकुरले टोकेको तथ्याङ्क रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । त्यस्तै अर्थिक वर्ष २०७७ ⁄७८ मा २ लाख ९५ हजार भाइल रोविजविरुद्धको खोप लगाइएको महाशाखाले जनाएको छ ।

विशेषगरी सङ्क्रमित जनावरको टोकाइबाट यो रोग सर्ने भए पनि बिना टोकाइ पनि मानिसमा रेविज सर्ने जोखिम हुने पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । बहुलाएको जनावरको र्याल चोटपटक लागेको भाग वा आलो घाउमा पर्न गएमा, रेविज लागेको गाई भैंसीलाई जवरजस्ती मुख खोलेर जांच्दा वा औषधि खुवाउँदा चोटपटक लागेको भागमा र्याल लटपटिन पुगेमा रेविज रोग लागि बिरामी वा असक्त भई लडेको चमेरो छुने चलाउने गर्दा टोक्न पुगेमा वा चोटपटक लागेको भागमा र्याल पर्न गएमा तथा रेविज रोग लागेर मरेको मानिसको नेत्रदान गरिएमा पनि यो रोग सर्नसक्ने निर्देशनालयले जनाएको छ ।

बहुला वा शङ्कास्पद कुकुर वा जनावरले टोकेको खण्डमा तुरुन्तै सम्भव भएमा साबुन पानी वा सफा पानीले टोकेको भागमा ५ मिनेटसम्म राम्ररी सफा गरी घाउमा औषधि (डिटोल आयोडिनको झोल) लगाउनु रेविजको प्राथमिक उपचार हो । नेपालमा सबै जिल्ला अस्पताल र सरुवा रोग अस्पतालहरुबाट रेविज विरुद्धको खोप उपलब्ध छ ।