काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतमा विकसित गुलाव नामक शक्तिशाली चक्रवातको आंशिक असर नेपालमा पनि पर्ने जनाएको छ । तर यसका कारण नेपालमा भारी वर्षा हुने सम्भावना भने न्यून रहेको महाशाखाले जनाएको छ ।

’गुलाव” नामक शक्तिशाली चक्रवात १० असोजमा उडिसाको जमिनमा अवतरण भई पश्चिम दिशातर्फ अगाडि बढिरहेको पनि मौसमविद्ले जानकारी दिएका छन् । ’यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदलीको अवस्था हुन सक्ने तर यसको असरका कारण देशमा भारी वर्षा हुने सम्भावना भने न्यून रहेको जानकारी अवगत गराउन चाहन्छौँ’, महाशाखाले जारी गरेको सूचनामा उल्लेख ।

महाशाखाले मंगलबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने पनि जानकारी दिएको छ । मुलुकका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । नेपालमा हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको मौसमविदले बताएका छन् ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जारी सूचनामा उल्लेख छ ।