म्याड्रिड– विश्व चर्चित फुटबलर तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर लियोनल मेस्सीको खेलका दौरानमा बायाँ घुँडामा लागेको चोटका कारण मोन्टपेलियरविरुद्धको खेल खेल्न नसक्ने भएका छन् । मेस्सीको गत आइतबार राति लियोनविरुद्धको खेलमा बायाँ घुँडामा चोट लागेको थियो । पीएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टिनोले भने आगामी मङ्गलबार हुने च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्धको खेलमा भने मेस्सी उपलब्ध हुने बताएका छन् । मेस्सीको आइतबार पुनः परीक्षण हुनेछ । सम्भवत उनी सिटीविरुद्ध घरेलु मैदानमा हुने खेलमा मैदानमा उत्रनेछन् ।

लियोनविरुद्धको खेलमा मेस्सीको बायाँ घुँडामा चोट लागेर घाइते भएपछि उनले ७६ औं मिनेटमा मैदान छाड्नु परेको थियो । घाइते भएका मेस्सीको एमआरआई स्क्यानको रिपोर्टअनुसार घुँडाको हड्डीमा चोट देखिएको छ । चोटकै कारण उनले बुधबार मेट्जविरुद्धको खेल गुमाएका थिए । उक्त खेलमा पीएसजीले मेट्जलाई २–१ गोलको अन्तरले पराजित गरेको थियो ।

स्टार खेलाडी मेस्सीको बारेमा पीएसजीका प्रशिक्षक पोचट्टिनो यसो भन्छन् –‘ मेस्सीले आजबाट दौडिन सुरु गरेका छन् । हामीले उनलाई नजिकबाट नियालिरहेका छौं । आशा गरौं आइतबार सकारात्मक सन्देश आउनेछ । उनी सिटीविरुद्धको खेलमा उपलब्ध हुनेमा विश्वस्त छौं । त्यसका लागि हामीले सावधानी अपनाएका हौं ।’’ अर्जेन्टिनी फरवार्ड ३४ वर्षीय मेस्सी गत अगष्टमा स्पेनिस ला लिगाको क्लब बार्सिलोनाबाट दुई वर्षको सम्झैतामा पीएसजीसँग अनुबन्धित भएका थिए ।

‘हामीसँग विभिन्न विकल्पहरु छन् । हामी टिमलाई कसरी सन्तुलित बनाउन सकिन्छ भनेर विचार गर्छौंं । हामी खेलाडी परिवर्तनमा पनि लचिलो छौं, माउरो इकार्डीले राम्रो प्रदर्शन गरिरहेका छन् । अहिले उनी फिट छन् । टिममा प्रभाव छाड्न सफल भएका छन् । हाम्रो आक्रमणमा उनी राम्रो विकल्प हुन् ।’ पीएसजीका प्रशिक्षक पोचट्टिनोले भनेका छन् ।

मेस्सी सिटी विरुद्ध मैदानमा उत्रन नसकेपनि हामी सुखद नतिजा आउनेमा पीएसजीका प्रशिक्षक पोचेट्टिनो आशावादी देखिन्छन् । अर्को साता सिटीविरुद्धको खेल भए पनि शनिबार रातिको खेलका लागि टिम छनोटमा कुनै असर नपर्ने बताए । एन्जेल डी मारियाले लिग खेल खेल्ने सम्भावना छ । गत सिजन सेमिफाइनलमा सिटीविरुद्ध रातो कार्डको सामना गरेका कारण डी मारिया च्याम्पियन्स लिगमा निलम्बनमा परेका थिए ।

जारी सिजनको सात खेलसम्म आइपुग्दा सतप्रतिशत नतिजा निकालेको पीएसजी फ्रेन्च लिग वानको शीर्ष स्थानमा छ । मोन्टपेलियर ९ अङ्क बटुल्दै दशौं स्थानमा रहेको छ ।