पत्रपत्रिकाबाट
काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार पाँच दर्जन जिल्लामा पालिका तहको अधिवेशन हुने भएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशन भएका अधिकांश जिल्लामा पालिका तहको अधिवेशन हुन लागेको हो। एक दर्जन जिल्लामा क्रियाशील सदस्यताको टुंगो लाग्न नसक्दा कांग्रेसको १४औं महाधिवेशन भने पुनः अन्योलमा पर्न गएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको पदाधिकारी बैठकमा सदस्यता टुंगो लाग्न बाँकी रहेका जिल्लाको विवाद तत्काल टुंगो लगाउने र दसैंअघि सबै जिल्लाको वडा र पालिका तहको अधिवेशन गर्ने समझदारी बनेको छ । संस्थापन पक्षले हिमाली २१ जिल्लाका सबै तहको अधिवेशन दसैंअघि नै सम्पन्न गर्ने र अन्य जिल्लामा तिहारपछि मात्र अधिवेशन गर्ने प्रस्ताव राखेको छ ।

तल्लो तहका अधिवेशन प्रभावित हुँदा महाधिवेशन तोकिएको मितिमा गर्न नसकिने भन्दै आगामी केन्द्रीय समितिको बैठकबाट नयाँ मिति तोक्ने तयारी छ । सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष सकेसम्म फागुन, नभए पनि पुससम्म महाधिवेशन सार्ने पक्षमा देखिएको छ ।

हिमाली जिल्लाका तल्लो तहका सबै अधिवेशन दसैंअघि नै सक्ने निर्णय भएको जानकारी दिँदै सहमहामन्त्री प्रकाशशरण महतले अन्य जिल्लाको अधिवेशन भने दसैंपछि मात्र हुने बताए । बाँकी जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन दसैंपछाडि मात्र हुँदा त्योभन्दा माथिको कार्यतालिका पनि प्रभावित हुनसक्ने बताउँदै महतले भने, ‘प्रदेश अधिवेशन त अब तिहारको पछाडि पुग्ने नै भयो । केन्द्रीय महाधिवेशन माघरफागुन होइन, कति समय आवश्यक पर्छ, हेरेर सर्न सक्छ ।’

सबै जिल्लामा एकै साथ अधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा आफूहरू रहेको उनले बताए । ‘महाधिवेशनको गाडी अघि बढिसक्यो । अब रोकिँदैन । तर तल्लो तहका अधिवेशन समयमा हुन नसक्दा केही समय अपुग भयो भने त्यति नै समय लिन सकिन्छ’, उनले भने । संस्थापन इतरका नेताहरूले सभापति देउवासहित संस्थापन पक्ष विभिन्न बहानामा महाधिवेशन सार्ने पक्षमा रहेको आरोप लगाएका छन् । (नागरिक दैनिक बाट)