काठमाडौं — नारायणहिटी दरबार सङ्ग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । दरबार सङ्ग्रहालयमा अवलकोनमा गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेका थिए ।
तर, सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिनुभएको छ ।
श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ, घर्तीले हातले प्रहार गर्दा बुलेट प्रुफ बाहिर रहेको सिसाको आवरण भने फुटेको छ । त्यसपछि उनले कोठाभित्र सोकेमा राखिएको खुकुरी झिकेर श्रीपेच निकाल्ने प्रयास गरेको देखिन्छ ।
भेषनारायणका अनुसार सेना सुरक्षाका लागि लगातार खटिने भएकाले चोरीको जोखिम हुँदैन । ‘उनलाई श्रीपेच देखेपछि त्यो लगाएर राजा हुन मन लागेको हुनसक्छ,’ दाहालले भने, ‘उनको मानसिक अवस्था त्यति ठीक हो कि भन्ने लागेको छ ।’
टिकट काटेर सङग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिनुभयो । ‘राजा बन्छु’ भन्दै घर्तीले श्रीपेच रहेको सोकेस फुटाएर निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको जानकारी आफूले पाएको एसपी सिंहको भनाइ छ । घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान भइरहेको एसपी सिंहले बताउनुभयो ।