काठमाडौं – काठमाडौं महानगरले १० असोजदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ । बुधबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रुपमा पालना गर्नुपर्ने मापदण्डसहित यस्तो निर्णय गरेको हो । योसँगै विद्यालयहरूले स्वास्थ्य मापदण्ड पालना गरेर पठनपाठन गराउन पाउने भएको हो ।

विद्यालय सञ्चालन गर्न बालबालिकाको सम्पर्कमा हुने शिक्षक, कर्मचारी, चालक, सहचालकसँगै विद्यालयको सरसफाइ र सुरक्षामा खटिने सबैले खोप अनिवार्य लगाएको हुनुपर्ने मेयर शाक्यले बताउनुभयो । ‘यदि कसैले लगाउन पाउनु भएको छैन भने हामी खोप उपलब्ध गराउँछौँ,’ उहाँले भन्नुभयो । महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीकाअनुसार विद्यालयले कक्षा सञ्चालन विस्तृत कार्ययोजना बनाएर शिक्षा विभागमा पेश गर्नुपर्नेछ । उहाँले विद्यालय सञ्चालन गर्न तोकिएका मापदण्डको पालना गराएको/नगराएको बारे शिक्षा विभागले नियमित अनुगमन गर्ने बताउनुभयो ।

यस्तो छ मापदण्ड

१. विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक अभिभावक संघ र सम्बन्धित वडासमेतका सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी सहमति र समझदारीमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने गराउने ब्यवस्था मिलाउने ।

२. विद्यालयहरुले विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाइ अनिवार्य रुपमा शिक्षा विभागमा पेश गर्ने ।

३. विद्यालयमा विद्यार्थीहरूको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालक लगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने यदि खोप लगाउन कोही बाँकी भए तुरुन्त काठमाडौं महानगरपालिकाको जन स्वास्थ्य विभागमा सम्पर्क राखी खोप लगाउने ।
४. विद्यालय सञ्चालन पूर्व विद्यालय परिसर र कक्षा कोठाको पूर्ण सरसफाइको सुनिश्चितता गर्ने ।

५. विद्यालयको भौतिक अवस्था, विद्यार्थी संख्या र उपलब्ध जनशक्तिका आधारमा एकै सिफ्ट वा फरक फरक सिफ्ट र दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने ।

६. विद्यालयको गेटमा र कक्षा कोठा बाहिर सेनिटाइजर वा साबुन पानीको प्रबन्ध गरी बेला बेलामा हात सेनिटाइज गर्ने वा धुने व्यवस्था मिलाउने ।

७. विद्यालयको गेटमा नै थर्मल गन राखेर प्रत्येक दिन विद्यार्थी र कर्मचारीको ज्वरो परीक्षण गर्ने र ज्वरो नआएको एकिन गरेर मात्र भित्र पठाउने व्यवस्था मिलाउने ।

८. विद्यालयको गेट, कक्षा कोठा र शौचालयको प्रयोग गर्दा बच्चाहरु लाइनमा, पालैपालो दूरी कायम गरी निस्कने र पस्ने प्रबन्ध गर्ने ।

९. सबै जनाले अनिवार्य रुपमा मास्क लगाउने, जगेडा मास्क लिइ आउने र मास्क नलगाइ आउने विद्यार्थीलाई विद्यालयले मास्क उपलब्ध गराउने व्यवस्था मिलाउने ।

१०. खाजा र पानीको प्रबन्ध विद्यार्थी स्वयम्ले घरबाट नै गर्न सूचित गर्ने ।

११. कक्षा कोठाको क्षमताका आधारमा भौतिक दूरी कायम हुने गरी मात्र विद्यार्थीहरुको बसाइ व्यवस्थापन गर्ने ।

१२. प्रत्येक दिन कक्षा सुरु गर्नुपूर्व र कक्षा सञ्चालन पश्चात विद्यालय परिसर र कक्षा कोठाहरु अनिवार्य रुपमा सेनिटाइज गर्ने ब्यवस्था मिलाउने ।

१३. स्वास्थ्य समस्या भएका विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई विद्यालय नआउन जानकारी गराउने ।

१४. विद्यालयहरुले बालबालिकाहरूलाई हरेक दिन कक्षा सञ्चालन पूर्व १०/१५ मिनेट स्वास्थ्य सतर्कताबारे सजग गराउने र मनोपरामर्श गरी उत्प्रेरणा प्रदान गर्ने ।

१५. विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र सम्बन्धित वडाबाट नियमितरुपमा अनुगमन र समन्वय गर्ने ब्यवस्था मिलाउने ।

१६. विद्यालयमा बच्चालाई स्वास्थ्य समस्या देखिएमा छुट्टै आइसोलेसन कक्षमा राख्ने व्यवस्था गर्ने, अभिभावकलाई खबर गर्ने र तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजाने ब्यवस्था मिलाउने ।

१७. विद्यालयमा सामूहिक कार्यक्रम /सामूहिक प्रार्थना आदि नगराउने ।

१८. विद्यालयमा खाजा समयमा भीडभाड नहुने गरी आलोपालो गर्ने प्रबन्ध मिलाउने ।

१९. विद्यार्थीलाई आफ्ना पाठ्यसामग्री, पानीका बोतल, खाजा, झोला आदि सामान आफूले मात्र प्रयोग गर्न र साथीसँग साटासाट नगर्न सजग गराउने ।

२०. अभिभावकले नै बच्चा विद्यालयमा ल्याउने लैजाने कार्यलाई प्रोत्साहित गर्ने । सवारी साधन प्रयोग गर्नुपर्ने अवस्थामा सामाजिक दूरी कायम हुने गरी सवारी साधनमा बस्ने ब्यवस्था मिलाउने ।

२१. विद्यालयमा स्वास्थ्य वा विज्ञान शिक्षकलाई कोविड फोकल शिक्षक तोक्ने र हरेक कक्षामा नियमित अनुगमनका लागि विद्यार्थी मनिटरको व्यवस्था गर्ने ।

२२. विद्यालयमा स्वास्थ्य हेल्प डेस्क राख्ने ।

२३. सुरुका दिनमा माथिल्लो कक्षाबाट पठनपाठन थालेर गरेर क्रमशः तल्ला कक्षाहरु सञ्चालन गर्ने ब्यवस्था मिलाउने ।

२४. सुरुका दिनमा कक्षा सञ्चालन गर्दा केही पिरियड मात्र पठनपाठन गरी क्रमशः अवस्था हेरी पिरियडको संख्या बढाउँदै लैजाने ।

२५. सबै विद्यार्थीहरुको भौतिक उपस्थितिमा पूर्णरुपमा कक्षा सञ्चालन नहुञ्जेल चालु वैकल्पिक सिकाइलाई निरन्तरता दिने ।

२६. अचानक कुनै नयाँ परिस्थिति आइपरेमा महानगर शिक्षा विभागमा खबर गरी प्राप्त निर्देशन अनुसार गर्ने ।

२७. काठमाडौं महानगरपालिका, शिक्षा विभाग मार्फत नियमित अनुगमनको व्यवस्था मिलाउने ।