काठमाडौं – अफगानिस्तानमा विद्रोहगरी सत्तारोहण गरेको तालिवान सरकारले सार्कमा आफ्नो प्रतिनिधित्व गराउन गरेको आग्रहलाई सार्कको वर्तमान अध्यक्ष राष्ट्र नेपालले अस्वीकार गरेको छ । तालिवानी सरकारका प्रतिनिधिलाई सार्कका सहभागिता जनाउन पाकिस्तानले अनुमति दिन आग्रह गरे पनि नेपालले त्यसलाई अस्वीकार गरेको एएनआइले खुलासा गरेको हो ।

असोज ९ गते शनिबार सार्क सदस्य राष्ट्रहरुका परराष्ट्रमन्त्री स्तरीय अनौपचारिक बैठकको गर्ने विषयमा छलफल भैरहेको बेला पाकिस्तानले तालिवानी प्रतिनिधिलाई अनुमति दिन प्रस्ताव गरेपछि परराष्ट्रमन्त्री स्तरीय अनौपचारिक बैठक नै अनिश्चितकालको लागि स्थगित हुन पुगेको छ । पाकिस्तानले अफगानिस्तानकोे अशरफ घनी नेतृत्वको सरकारले प्रतिनिधिको रुपमा नियुक्त गरेको गुलाम एम इसाकजाई बैठकमा सहभागी नगराउने कुरा लिखित रुपमा दिन पाकिस्तानले गरेको आग्रहलाई सार्क अध्यक्ष राष्ट्र नेपालले अस्वीकार गरेको जनाइएको छ ।

गत अगष्ट १५ मा अफगानिस्तानको सत्तालाई पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिएपछि तालिवान सरकार अन्तर्राष्ट्रिय रुपमा मान्यता संयुक्त राष्ट्र सङ्घदेखि सार्क सङ्गठनसम्म प्रयास गर्दै आएको छ । पाकिस्तान अफगानिस्तानको तालिवानी सरकारलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन लागि परे पनि अन्य देशहरुले त्यसलाई अस्वीकार गर्दै आएका छन् । तालिवानलाई पाकिस्तान बाहेक अरु कुनै सार्क राष्ट्रले मान्यता दिएका छैनन् ।