पत्रपत्रिकाबाट

काठमाडौं – नेपाली कङ्ंग्रेसको १४औं महाधिवेशनअन्तर्गत तल्लो तहको अधिवेशन कार्यतालिका फेरि प्रभावित भएको छ । एक दर्जन जिल्लामा अझै क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा पूर्वर्निधारित कार्यतालिका पूरै प्रभावित भएको हो ।

दसैंअघि नै केन्द्रीय र प्रदेशबाहेक सबै अधिवेशन सक्नेगरी कार्यतालिका सार्वजनिक भए पनि बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थानीय (पालिका) तहबाहेक तल्लो तहका अधिवेशन दसैंपछि गर्ने समझदारी गरेको छ ।

असार ९ गतेका लागि तोकिएको पालिका अधिवेशनचाहिँ नरोक्ने समझदारी बनेको छ । बाँकी जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाउने र दसैँअघि सबै जिल्लाले वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने सहमति भएको जानकारी नेता रामचन्द्र पौडेलले दिए । ‘अब दसैंअघि पालिका अधिवेशनमात्रै हुन्छ,’ उनले भने, ‘बाँकी त्यसपछि हुन्छ ।’ पालिका तहको अधिवेशन असोज ९ गतेबाट सुरु हुने भए पनि आफ्नो अनुकूल जिल्लाहरुले मिति तलमाथि गर्नसक्ने भएका छन् ।

नेता पौडेलसहित संस्थापन इतर समूहले सबै जिल्लाको वडा अधिवेशन सकिएपछि मात्र पालिकाको अधिवेशन गर्नुपर्ने अडान राखे पनि संस्थापन पक्षले अस्वीकार गरेको स्रोतको दाबी छ । तर उनीहरुकै मागअनुसार प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन कार्यतालिका चाहिँ संशोधन गर्ने सहमति भएको हो । (नागरिक दैनिक बाट)