काठमाडौं – नेपालमा चालु आर्थिक वर्ष २०७८/७९ को आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत रहने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी)ले गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको प्रक्षेपणमा यस्तो उल्लेख छ ।
चालु आर्थिक वर्षमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान सरकारले गरेको छ । उक्त प्रक्षेपणको तुलनामा करीब आधा कम मात्र लक्ष्य भेट्ने अनुमान बहुराष्ट्रिय निकायको छ । एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नौड काचोइसले नेपालमा जारी कोरोना विरुद्धको खोप अभियानले विकासको गतिमा ठूलो समर्थन मिल्ने बताउनुभएको छ ।
यो आर्थिक सुधारका लागि समेत महत्वपूर्ण हुने उनको भनाइ छ । कोभिड–१९ को घट्दो क्रम र आर्थिक गतिविधिमा भएको सुधारले आर्थिक वृद्धिमा सहयोग पुग्ने एडीबीले बताएको छ । यो वर्ष धेरै वर्षा भएका कारण कृषि उपज धानबालीले जीडीपीमा योगदान गर्नेछ । पछिल्ला महिनामा निर्यात वृद्धि भएको तथ्याङ्क आएको छ । यसले घरेलु उत्पादन बढेको सङ्केत गर्ने समेत एडीबीको विश्वास छ । यो वर्ष सरकारको नीति समेत स्वास्थ्य सुरक्षामा बढी केन्द्रित रहेको छ ।
कोरोना महामारीका कारण प्रभावित क्षेत्रको पुनरुत्थान र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउने घोषणाको सकारात्मक प्रभाव समेत अर्थतन्त्रमा पर्नेछ । खुद्रा व्यापार, यातायात र वित्तीय सेवामा भइरहेको चलायमान अवस्थाले समेत आर्थिक वृद्धिमा सघाउ पुग्ने एडीबीले जनाएको छ । पर्यटक आगमनमा ८० प्रतिशत भन्दा बढीको गिरावट आएको छ । यो वर्ष यस आँकडामा सुधारको अपेक्षा छ ।
होटेल रेष्टुरेन्ट सञ्चालनमा आएका छन् । पर्यटकीय गतिविधि समेत खुला भएको अवस्थामा सेवा क्षेत्रले समेत आर्थिक वृद्धिमा टेवा पु¥याउन सक्ने एडीबीको भनाइ छ । यो वर्ष मुद्रास्फिति भने ५ दशमलव २ प्रतिशतसम्म पुग्ने अनुमान छ । अघिल्लो आवमा मुद्रास्फिति ३ दशमलव ६ प्रतिशत मात्र रहेको छ ।