काबुल– अफगानिस्तालाई कब्जामा लिएर सत्तारोहण गरेको तालिवानले यसैहप्ता अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घीय महासभाको बैठकमा आफूलाई सम्बोधन गर्न दिन आग्रह गरेको छ । तालिवानले विश्वका नेताहरुसामु आफुले महासभामार्फत् सम्बोधन गर्न चाहेकोले भन्दै आग्रह गरेको हो ।

अगस्ट १५ मा तालिवानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणलिएको केही समयपछि सरकार गठन गरेको थियो । अफगानिस्तान सरकारको विदेशमन्त्रीको रुपमा रहेका तालिवानी नेताले सोमबार पत्र पठाएर सम्बोधनका लागि अवसर दिन आग्रह गरेपछि संयुक्त राष्ट्रसंघको एक समितिले त्यस विषयमा छलफल गर्ने भएको छ । तालिवानले उच्च तहको सम्मेलनमा सहभागी हुनका लागि गरेको आग्रहमाथि संयुक्त राष्ट्रसङ्घको क्रेडिन्सियल कमिटीमा छलफल हुनेछ । यो कमिटीमा अमेरिका, चीन र रुससहित अन्य नौ देशहरु रहेका छन् ।

दोहामा रहेका आफ्ना प्रवक्ता शुहेल शहीनलाई तालिवानले संयुक्त राष्ट्रसङघका लागि अफगानिस्तानको राजदूतका रुपमा नियुक्त गरेको छ । अहिले अफगानिस्ताको सत्तामा आफुहरु रहेकाले यसअघिको सरकारले नियुक्त गरेको राजदूतले देशको प्रतिनिधित्व गर्न नसक्ने भन्दै शुहेल शहीनलाई राजदूतमा नियुक्त गरेको बताएको छ ।

तालिवानीका विदेशमन्त्री अमिर खान मुत्ताकी ।

संयुक्त राष्ट्रसङ्घको क्रेडिन्सियल कमिटीे बैठक आगामी सोमबार अन्त्य हुने महासभाको मुख्य सत्र पहिले हुने सम्भावना ज्यादै कम छ । तबसम्मका लागि अफगानिस्तानको पूर्वसरकारले नियुक्त गरेका गुलाम इसाक्जाई नै संयुक्त राष्ट्रसंघका लागि अफगानिस्तानका राजदूत रहने छन् । इसाक्जाइले नै महासभाको अन्तिम दिन सेप्टेम्बर २७ मा बैठकमा सम्बोधन गर्ने छन् । इसाक्जाइले महासभामा गर्ने प्रतिनिधित्व अफगानिस्तानकोे नहुने समेत बताएको छ ।

हिजो मङ्कलबार भएको संयुक्त राष्ट्रसंघको एक बैठकमा कतारले विश्वका नेताहरुलाई तालिवानसँग सम्पर्कमा रहन आग्रह गरेको थियो । तालिवानलाई बहिष्कार गर्दा ध्रुवीकरण थप बढ्ने भन्दै कतारले सम्पर्कमा रहन आग्रह गरेको छ ।

अफगानिस्तानको राजनीतिमा भइरहेको घटनाक्रममा कतार मुख्य पात्रका रुपमा देखापरेको छ । तालिवानको मुख्यालय कतारमै रहेको छ । अफगानिस्तानबाट अमेरिकी नेतृत्वको विदेशी सेना फिर्ता गराउने विषयमा समेत कतारले मध्यस्थता गर्दै कतारमै अमेरिका र तालिवानवीच वार्ता गराउन सफल भएको थियो ।