काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश एक, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा सम्भावना रहेको मौसमविद्को भनाई छ । अन्य प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो केही समय मौसम खुले पनि साँझपख पुनः पानी पर्ने सम्भावना रहेका विभागले जनाएको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले अनुरोध गरेको छ ।

मौसममा रहेको बदली कम्तीमा अझै दुईदिन रहने छ । हिजो साँझबाट भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बङ्गाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरुको आंशिक प्रभाव नेपालमा पनि रहेको मौसमविद्ले वताएका छन्, त्यसैले यसको प्रभाव कम्तीमा दुईदिन पर्ने देखिन्छ । यसको असर कम्तीमा दुई दिन मौसममा बदली र वर्षा हुन्छ ।