वीरगञ्ज – ४० किलो चाँदीसहित आज बिहान एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । चाँदीसहित प्रहरीले सर्लाही मलङ्गवा नगरपालिका–२२ बस्ने ३५ वर्षका विद्यानन्द साह सोनारलाई पक्राउ गरेको हो ।

रौतहट गौर नगरपालिका–४ गौर बसपार्कमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बस काउण्टरबाट आउँदै गरेका सोनारलाई चाँदीसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट दुई वटा झोलामा रहेको ४० किलो चाँदी बरामद गरिएको रौतहटका प्रहरीले जानकारी दिएको छ । बरामद गरिएको चाँदीको बजार मूल्य रु. ३९ लाख ४४ हजार रहेको प्रहरीले जनाएको छ । सोनारलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको रौतहट प्रहरीले बताएको छ ।