सुनसरी – धरान उपमहानगरपालिकाको निर्देशन उल्लङ्घन गर्दै धरानका निजी विद्यालय तथा कलेजहरूले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाइएको छ । मङ्गलबार धरानका विभिन्न विद्यालय तथा कलेजहरूमा अनुगमन गर्दा उपमहानगरपालिकाको निर्देशन विपरीत भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाइएको हो । धरान उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा अधिकृत मनोज भट्टराई, नगर प्रमुखका स्वकीय सचिव राजेशमान श्रेष्ठ, बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटा, नगर प्रहरी निरीक्षक विष्णु कोइरालासहितको टोली निजी विद्यालय तथा कलेज अनुगमन गर्न जानुभएको थियो । मेयर तिलक राईको अध्यक्षतामा गएको भदौ ३१ गते बसेको कार्यपालिकाको बैठकले धरानमा कोरोना महामारी अझै नियन्त्रण हुन नसकेको भन्दै दसैँ, तिहारपछि मात्र विद्यालय तथा कलेजहरू खुलाउने निर्णय गरेको थियो ।

अधिकृत मनोज भट्टराईले आज धरानका चार वटा निजी स्कुल तथा कलेजहरूमा गएर अनुगमन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार विष्णु मेमोरियल, समिट सेकेन्डरी स्कुल, धरान आदर्श र यूरिका स्कुलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा विष्णु मेमोरियलमा विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन भइरहेको पाइएको उहाँले बताउनुभयो । बिहानको सिफ्टमा कक्षा ११ र १२ को भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरिएको विष्णु मेमोरियलले स्वीकार गरेका छन् । उक्त स्कुलले भोलिदेखि पठनपाठन रोक्ने प्रतिबद्धता गरेको अधिकृत भट्टराईले जानकारी दिनुभएको छ ।

यस्तै, समिट सेकेण्डरी स्कुलले पनि नर्सरी र केजीको विद्यार्थीलाई दिउँसोको सिफ्टमा भौतिक उपस्थिति मै पठनपाठन सञ्चालन गरिरहेको भेटिएको थियो । समिटमा नर्सरी र केजीका विद्यार्थी बाहेक अन्य कक्षाका विद्यार्थीलाई भने अनलाइन माध्यमबाट पठनपाठन गराइरहेको पाइएको अधिकृत भट्टराईले जानकारी दिनुभयो । अनुगमनका क्रममा धरान आदर्शमा भने कक्षा ११ र १२ को परीक्षा सञ्चालन भइरहेको भेटिएको थियो । अधिकृत भट्टराईका अनुसार यूरिका स्कुलमा भने पठनपाठन भएको देखिएको थिएन ।

अनुगमनका क्रममा स्कुल तथा विद्यालय अहिले सञ्चालन नगर्न निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो । “अनुगमनलाई निरन्तरता दिनेछौँ, भोलि पनि अनुगमनमा जान्छौँ, कडाइका साथ अनुगमन गर्छौ, नगरपालिकाको निर्देशन विपरीत विद्यालय तथा कलेजहरूमा पठनपाठन भइरहेको पाइएमा कारबाही पनि गर्छौ,” अधिकृत भट्टराईले भन्नुभएको छ ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले धरानमा विद्यालयहरूमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने आज नै जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उप–महानगरपालिकाले भौतिक रूपमा विद्यालय सञ्चालन नगरी वैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाई सहजीकरण कार्यलाई निरन्तर अगाडी बढाउन निर्देशन दिएको थियो । धरानका कतिपय विद्यालयहरूले भौतिक रूपमा नै विद्यालय सञ्चालन गरिरहेका, अभिभावक तथा विद्यार्थीहरूलाई सूचना गरी विद्यालयमा बोलाउने गरेको गुनासाहरू नगरपालिकामा आएका कारण तत्काल भौतिक रूपमा पठनपाठन बन्द गरी वैकल्पिक प्रणालीबाट विद्यार्थीहरूको सिकाई सहरीकरणलाई निरन्तर अगाडी बढाउन विज्ञप्तिमार्फत निर्देशन दिइएको छ ।