काठमाडौं – हिजो १ सय १४ अङ्कले पहिरो गएको शेयर बजारमा आज भने केहि सुधार देखिएको छ । आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले सुधार भएको हो । नेप्से परिसूचक १३ दशमलव ८३ अङ्कले बढेर २ हजार ७ सय १२ दशमलव ०७ अङ्कमा पुगेको छ । दिउँसो एक पटक ६४ अङ्कले बढेको थियो । तर बजार सम्हालिन नसक्दा अन्तिममा १३ अङ्कले बढेर बन्द भएको हो ।

नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने उल्लास देखिएन । हिजो साढे ८ अर्ब रुपैयाँको शेयर किनबेच भएकोमा आज भने ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रुपैयाँको कारोबार भएको छ । धेरै कमाउने कम्पनीहरुमा आज बढेको बजारमा सबैभन्दा धेरै कमाउनेमा मनकामना स्मार्ट लघुवित्त कम्पनीका लगानीकर्ताहरु देखिएका छन् । यो कम्पनीको शेयर मूल्य ९८ दशमलव ९० रुपैयाँले बढेको छ ।

दोस्रोमा रुरु हाइड्रोपवरको शेयर मूल्य ६७ रुपैयाँले बढेर १ हजार २ सय २७ रुपैयाँ पुगेको छ । यसैगरी तेस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य १७ रुपैयाँले बढेर ३ सय ८२ रुपैयाँ पुगेको छ । यस कम्पनीले आजमात्रै ८.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।