पत्रपत्रिकाबाट

काठमाडौं – पछिल्लो समयमा सीमाको अवस्था के छ भन्नेबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा अनभिज्ञता जनाएका छन् । वीरगन्जबाट आएको होटेल तथा पर्यटन व्यवसायी टोलीसँगको छलफलमा उनले सीमामा सवारीसाधनको आवागमनको अवस्थाबारे अनभिज्ञता प्रकट गरेका हुन् । कोरोना बढे अनुसार सीमामा २०७६ चैत ११ देखि यता मालवाहक सवारीसाधन प्रवेशमा रोक छ। यसबीचमा औपचारिक रूपमा सीमामा आवतजावत नखोलिए पनि दैनिक हजारौं मानिसको पैदल आवागमन भने निर्वाध छ ।

यसरी सीमानाकाबाट यात्रुवाहक सवारी प्रवेशमा रोक भएको कारण वीरगन्ज र आसपासको क्षेत्रसँगै देशकै पर्यटन व्यवसाय प्रभावित रहेको भन्दै होटेल तथा पर्यटन व्यवसायीहरू प्रधानमन्त्रीसमक्ष समस्या राख्न आइपुगेका थिए । यी विषयहरूको बारेमा प्रधानमन्त्रीलाई पहिलेदेखि जानकारी नभएको उनको जिज्ञासाहरूबाट देखिएको थियो। लगातार डेढ वर्षदेखि सीमा बन्द रहेको भन्ने कुरामा उनले चासो जनाए। भारततर्फबाट नेपाली सवारीसाधन प्रवेशमा भने अहिले प्रतिबन्ध छैन । (नागरिक दैनिक बाट)