काठमाडौं– आज बसेको प्रतिनिधिसभा बैठकले बजेट पारित भएको छ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका बीच (विनियोजन विधेयक २०७८) बजेट बहुमतले पारित गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गर्नका लागि लगेको प्रस्तावलाई सभामुखले बैठकमा निर्णयार्थ पेश गर्नुभएको थियो । अर्थमन्त्री शर्माले गत भदौ २५ गते बसेको प्रतिनिधिसभाको बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो ।


सोमबारको बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरु नाराबाजी गर्दै रोस्ट्रम घेर्न पुगेको थिए । एमालेका सांसदहरुको नाराबाजी बीच पनि बजेटमाथि छलफल सुरु गरिएको थियो । बजेटको छ्लफल औपचारिकतामै सीमित भयो । केही समयको छलफलपछि विनियोजना विधेयक बहुमतले पारित गरिएको हो । भोली मङ्गलबार बस्ने राष्ट्रियसभाको बैठकमा बजेट पेश हुनेछ । बजेटमाथि एमालेका सांसदहरुले छलफल गर्न नगरी रोष्ट्रममा घेर्दै नाराबाजी गरिरहका थिए ।


विधेयक पारित गर्नुपूर्व सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रालय, कार्यालय र सचिवालयगत खर्च शीर्षकमा छलफलमा भाग लिन चाहने सांसदहरुको नाम टिपाउन आग्रह गर्नुभएको थियो । विरोधको सूचना दर्ता गराएका नेमकिपाका सांसद प्रेम सुवालबाहेक अन्य कुनै पनि सांसदले नाम नटिपाएपछि सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन बजेट सम्बन्धमा उठेका प्रश्नको जवाफ दिन समय दिनुभएको थियो । नेमकिपा सांसद सुवाललाई विभिन्न मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव फिर्ता लिन समय दिइएको थियो । संसाद सुवालले प्रस्ताव फिर्ता नलिएपछि खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

अर्थमन्त्री शर्माले ३ प्रतिशत बजेट मात्र हेरफेर गरिएको, अध्यादेशबाट आएको बजेटको आकारमा केही घटाएर बजेटलाई यथार्थपरक बनाएको बैठकलाई जानकारी गराउनु भएको थियो । बजेटमा विभिन्न स्वास्थ्य समस्याका बिरामीहरुलाई सहुलियत दिनेको व्यवस्था समेत गरेको बताउनु भएको थियो । अर्थमन्त्रीको जवाफबारे सभामुखले स्पष्टकरण राख्न समय दिनुभएको थियो ।


तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले नयाँ कार्यक्रमसहित बजेट प्रतिस्थापन विधेयक ल्याएको थियो । बजेट पास नहुँदा सरकार बेखर्ची बनेको अवस्थामा एमाले सांसदहरुको अवरोधका बीच बजेट पास भएपछि सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । प्रतिनिधिसभाको अर्को बैठक २०७८ असोज ७ गते बिहीबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको छ ।