सिड्नी– अमेरिका, बेलायत र अष्ट्रेलियाबीच गतहप्ता भएको ‘ओकस सुरक्षा सम्झौता’ का कारण विश्व राजनीतिलाई मथिङ्गल बनाएको छ । अस्ट्रेलियाले फ्रान्ससँग सबमरिन किन्ने सम्बन्धमा भएको अर्बौं डलरको ठेक्का सम्झौता अन्त्य गरी ओकस नामको सुरक्षा सहकार्य सम्झौतामा सामेल हुने आफ्नो निर्णयको बचाउ गर्दै अस्ट्रेलियाले फ्रान्सलाई नढाँटेको भन्दै स्पष्टीकरण दिएको छ । सोही विषयलाई लिएर फ्रान्सले विरोध स्वरुप छलफल गर्न भन्दै अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूतहरुलाई फिर्ता बोलाएको थियो ।

ओकसअन्तर्गत अमेरिका र बेलायतले परमाणु क्षमतायुक्त सबमरिन बनाउनका लागि अस्ट्रेलियालाई सहयोग गर्ने गरी तीन देशबीच ओकस सम्झौता भए पछि फ्रान्सले तिब्र असन्तुष्टि व्यक्त गर्दै आएको छ । फ्रान्सले आफूसँग ठेक्का सम्झौता भएको अवस्थामा ढाँटेर सुरक्षा सम्झौता गरिएको बताएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले फ्रान्सको आरोप अस्वीकार गर्दै ओकससँगै ठेक्का सम्झौता अन्त्य हुने जानकारी फ्रान्सलाई रहेको बताएका छन् ।


अमेरिका, बेलायत र अस्ट्रेलियाले चीनसँग सामना गर्न विशेष सुरक्षा सम्झौता ओकसको घोषणा गरेका हुन् । विकसित सुरक्षा प्रविधि एकअर्कामा साझा गर्नका लागि तीन देशबीच सम्झौता भएको थियो । चीन लक्षति उक्त सम्झौता आफ्नो हितमा नरहेको भन्दै फ्रान्स ओकसप्रति रुष्ट बनेको हो ।

ओकस सम्झौताअन्तर्गत अस्ट्रेलियालाई परमाणु क्षमतायुक्त सबमरिन बनाउनका लागि प्रविधिसहितको सहयोग गरिने छ । ओकस सम्झौतासँगै अस्ट्रेलियासँग भएको फ्रान्सको ५० बिलियन अस्ट्रेलियन डलर बराबरको ठेक्का अन्त्य भएको छ । अस्ट्रेलियन नौसेनाका लागि १२ वटा सबमरिन बनाउनेसम्बन्धी ५० बिलियन अस्ट्रेलियन डलर बराबरको ठेक्का सन् २०१६ मा फ्रान्सले पाएको थियो । फ्रान्सले भने ओकसले सहयोगी देशहरुबीच गम्भीर सङ्कट उत्पन्न भएको बताएको छ ।