काठमाडौं— जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । त्यसैगरी गण्डकी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकोले नेपालको मौसममा केही परिवर्तन हुने महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यसैगरी, आज राति देशभर आंशिकदेखि सामान्य बदली रही केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाले केही स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।