काठमाडौं – आइतबार सुटिङको क्रममा निधन भएका कलाकार रमेशको केसी ‘मट्टारे’को अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट क्षेत्रमा करिब १ घण्टा राखिएको थियो । श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, कलाकार उत्तम केसी, वीरेन्द्र हमाल, प्रभाकर शर्मा, रामशरण कोइराला, राजेश महर्जन, मुकुन्द मैनाली, सिरियल हर्के हवल्दार युनिट, निर्देशक कलाकार जीवन थापा, पनाह अधिकारी लगायत पुगेका थिए । चलचित्र कलाकार सङ्घको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।

इमाडोल ललितपुर घर भएका उनको तारकेश्वर नगरपालिका वडा नं ६ माहाँकालमा स्थित छन्दे स्टुडियोमा एक म्युजिक भिडियोमा अभिनय गर्दागर्दै मृत्यु भएका हो । अभिनय सिलसिलामा निधन भएका उनी दोस्रो कलाकार हुन् । यस अगाडि कलाकार विष्णुभक्त फुयाँलको राष्ट्रिय नाचघरमा एक नाटक अभिनय सिलसिलामा निधन भएको थियो । ७० वर्षका केसीको हृदयाघातको कारण निधन भएको हो । आइतबार स्टुडियोमा सुटिङमा टेक दिँदादिँदै उनी एक्कासि ढलेपछि उनलाई तुरुन्तै महाराजगञ्जको गंगालाल अस्पताल पु¥याइएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

मनोहरी भण्डारीको ‘अनजान’ भन्ने नाटकबाट अभिनय थालेका केसीले के सक्कली के नक्कली, यमपुरीमा ज्युँदो मान्छे, बसमा टाँगिएको जिन्दगी, पृथ्वी नारायण शाह, शरदार भक्ति थापा, साहुजीको लाटी स्वास्नी, मुना मदन, एक चिहान लगायत ७० बढी नाटक तथा सडक नाटकमा अभिनय गरेका थिए । त्यस्तै उनले हर्के हवल्दार, अब त अति चो, च्वास्स चुस्स, तितो सत्य, आफ्नै कथा, एकादेशको चुरीफुरी, महजोडीको लक्ष्मी लगायत करिब ३ दर्जन सिरियल अभिनय गरेका छन् ।

जे भो राम्रै भो, लोभी पापी, चङ्गा लगायतका दर्जन बढी फिल्ममा अभिनय गरेका केसीले केही म्युजिक भिडियो समेत अभिनय गरेका छन् । उनका एक छोरा मधुसूदन केसी पनि चलचित्र क्षेत्रमै क्रियाशील छन् । मधुसूदनले ४० बढी चलचित्रमा मुख्य सहायक निर्देशकको जिम्मेवारी बहन गरेका छन् । केसीका श्रीमती, दुई छोरा र तीन छोरी रहेका छन् ।