साङ्केतिक तस्वीर

काठमाडौं – छिमेकीले जङ्गली जनावरलाई थालेको पासोमा परेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको हो ।

बर्दिया जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेका हुन् ।

खेतमा विद्युतीय पासो थाप्ने छिमेकी ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय भुरिगाउँमा राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।