पेनिस्लिभेनिया – अमेरिकाको पेनिस्लिभेनिया राज्यका सडकमा राष्ट्रपति जो बाइडेनको एक खालको कार्टुन बनाइ प्रदर्शन गरिएको छ । पेनिसिल्भेनियाभरि यस किसिमका १५ बिलबोर्डहरु राखिएका छन् । उक्त कार्टुनमा तालिवानको पोशाक प्रतिविम्बित हुने गरी बन्दुक बोकेको र त्यस सँगै ‘मेकिङ तालिवान ग्रेट अगेन’ अर्थात तालिबानलाई फेरि महान बनाउँदै भन्ने विवादास्पद भनाइ पनि लेखिएको छ । डोनाल्ड ट्रम्पको क्याचफ्रेज, ‘मेक अमेरिका ग्रेट अगेन’ लाई त्यसरी व्यङ्ग्यात्मक शैलीमा लेखिएको हो ।

यसबारे सबैतिर चर्चा भएको छ । यसकार्यका पछाडि एक पूर्व स्टेट सिनेटर रहेको खुलासा भएको छ । सन् २०१८ मा गर्भनरका लागि लडेका पूर्व रिपब्लिकन सिनेटर स्कट वेग्नरले यसका लागि आफु जिम्मेवार रहेको भन्दै गर्वका साथ त्यस कार्यलाई स्वीकारेका छन् ।

पेनिस्लीभेनियाका जनताबीच यस किसिमको हर्कत कसले गर्यो होला भनेर सामाजिक सञ्जालमा एक खाले बहस पनि चलेको थियो । सबै रहस्य अन्त्य गर्दै पूर्व रिपब्लिकन सिनेटर स्कट वेग्नरले ‘म कसैसँग लुकेको होइन । वास्तवमा त्यस्तै महसुस गर्छु’ भनेका छन् । वेग्नर सन् २०१४ देखि १८ सम्म करिब पाँच वर्ष स्टेट सिनेटको जिम्मेवारी सम्हालेका व्यक्ति हुन् । बिलबोर्डमा त्यस किसिमको सन्देश प्रकाशित गर्नुका पछाडि थुप्रै कारण रहेको बताउँदै वेग्नर आफु एक्लैले सो तस्वीर राख्ने निर्णय गरेको खुलासा गरेका छन् ।

उनले स्पष्टीकरण दिँदै फक्सन्युजसँग ‘बाइडेनले हतारिएर अफगानिस्तानबाट अमेरिकीहरुलाई बाहिर निकाल्नुले अमेरिकालाई दुनियाँका सामु हाँसोको पात्र बनाइदिएको छ । तालिवानले खुलेआम आफूले अमेरिकालाई अफगानिस्तानबाट भगाएको ठहर गरिरहेका छन्’ भनेका छन् । तालिवान सत्तामा आएसँगै त्यहाँका युवा र जवानहरुले अमेरिकाका कारण अनुभव गर्न पाएको स्वतन्त्रता सबै फेरि गुम्नेछ ।’ त्यसैगरी उनले आफू पदमा हुँदा अफगान गएका सयौँ भेटेरान सेनाहरुसँग भेट गरेको समेत उनले बताएका छन् ।

पूर्व रिपब्लिकन सिनेटर स्कट वेग्नरले राष्ट्रपति बाइडेनप्रति कटाक्ष गर्दै ‘मध्य पूर्वमा आफ्नो परिवार र प्रियजन गुमाएकाहरुलाई हामीले के जवाफ दिने ? आफ्नो ज्यान त्यागेर अर्काको देशको सेवा गरेको अब के औचित्य रह्यो ? मेरो विचारमा बाइडेनले अफगानिस्तानबाट अमेरिकालाई निकाल्न अनावश्यक हठ राखे र उनको ‘इगो’ अनि उचित जानकारीको अभावमा सो कदम अमेरिकाका लागि घातक साबित हुनेवाला छ’– भनेर आक्रोपूर्ण शैलीमा आफ्नो टिप्पणी सार्वजनिक गरेको देखिन्छ ।

यति मात्र नभएर वेग्नरले अफगानिस्तान छाड्दै गर्दा अमेरिकाले विभिन्न विमान, सवारी साधन , हतियार र विस्फोटकहरु पछि छाड्नु परेको दुखेसो पनि पोखेका छन् । ‘यो त भियतनाम जस्तै भयो । वास्तवमा त्यो भन्दा यो भयानक कुरा हो’ उनले भनेका छन् । वेग्नरले यो पोस्टरका लागि १५ हजार डलर तिरेको बिलबोर्डको निगरानी गर्ने कम्पनीका प्रमुख ब्रायन स्कटले बताएका छन् । सो पोस्टर गत हप्ता राखिएको अर्को दुई महिनासम्म रहने ब्रायन स्कटको भनाइ छ ।

विवादास्पद भएपनि सार्वजानिक स्थलमा त्यस्तो राखेकामा प्रश्न उठाइएपछि स्कटले कम्पनीको बचाउ गर्दै आफूहरु सबै मुद्दाको बीचमा रहेको र फोहोर शब्द प्रयोग नगरिएको खण्डमा बिलबोर्डमा सबै किसिमका पोस्ट राख्न सकिने बताएका छन् । ‘यदि कसैले बाइडेनको प्रशंसा गर्दै बोर्ड राख्न चाहन्छ भने हामी त्यसका लागि पनि तयार छौँ । तर हामीले त्यस्तो प्रस्ताव पाएका छैनौँ’ स्कटले भनेका छन् ।