एजेन्सी – चीनको सिचुआनमा शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भएको र ६० जना घाइते भएका पुष्टि गरिएको छ । घाइतेहरू सबैको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरू मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

देशको सिचुवान प्रान्त अन्तर्गत पर्ने लुक्षिन क्षेत्रमा भूकम्प आएको हो । भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको पनि अधिकारीहरूले जनाएका छन् । चिनियाँ भूकम्प प्रशासनले ८९० भन्दा बढी व्यवसायिक उद्धारकर्मीहरू परिचालन गरिएको र अन्य स्वयमसेवक तथा स्थानीय बासिन्दाहरु पनि खोजी तथा उद्धार कार्यमा खटिएको जनाइएको छ ।

त्यसैगरी अरु चार हजार ६०० उद्धारकर्ताहरु तयारी अवस्थामा रहेको पनि प्रकोप व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । प्रारम्भिक विवरणका अनुसार ७३७ घरहरु भत्किएका छन् भने ७२ घरको अधिकांश भाग क्षतिग्रस्त भएको छ । त्यसैगरी सात हजार २९० घरमा सामान्य क्षति भएको छ । घर बाहेक अन्य भौतिक संरचनाहरूमा पनि क्षति पुगेको देखिएको छ । खोजी तथा उद्धारसँगै क्षतिको विवरण संकलन गर्ने कार्य पनि भइरहेकाले पूर्ण विवरण आउन बाँकी नै रहेको अधिकारीहरूले जानकारी दिएका छन् । रासस