काठमाडौं – आज देशभर सामान्यदेखि पूर्ण बदली रहँदा सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
काठमाडौं उपत्यकामा आज दिनभर मौसममा बदली हुने छ । अधिकांश समय मौसममा बदली हुँदा घाम नलाग्ने मौसमविद्को भनाइ छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको आर्याल बताउँछन् । सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हल्कादेखि मध्यम तथा भारी वर्षाको सम्भावना रहेका क्षेत्रका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागको आग्रह छ ।

हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको विभागले जनाएको छ ।