पीएसजीका मेस्सी । फाइल तस्वीर
युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन सुरु हुँदै गर्दा सबैको ध्यान बार्सिलोनाका पूर्व कप्तान तथा पीएसजीमा हालैमात्र अनुबन्धित भएका लियोनल मेस्सीतर्फ तानिएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन–पीएसजीले युरोपियन च्याम्पियन्स लिग बाहेक अन्य कुनै प्रतियोगिता जित्न बाँकी छैन । त्यसैले यतिखेर युरोपियन च्याम्पियन्स लिगको सुरुवातसँग बाहेक उक्त लिगको उपाधी दिलाउन अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सी कति सफल हुने छन् त्यो त निकट भविष्यले देखाउने नै छ, तर पीएसजीले सबैभन्दा ठूलो क्लब प्रतियोगिता जित्ने लक्ष्यसहित स्टार स्ट्राइकर लियोनल मेस्सीलाई भित्र्याएको हो ।

पीएसजीले युरोपियन च्याम्पियन्स लिगको नयाँ सिजन सुरुवात बेल्जियन क्लब ब्रुज केभीसँग बुधबार खेल्दै छ । यो खेलमा सबैको ध्यान लियोनल मेस्सीमा केन्द्रत रहने फुटबलका पण्डितहरु बताउँछन् । मेस्सीले पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउलान् त ? यतिबेला यो प्रश्न अनुत्तरित नै हुन्छ । बार्सिलोना छाडेर पीएसजीमा अनुबन्धित भएका मेस्सीले फ्रेन्च क्लबका लागि एक खेल मात्र खेलेका छन् । त्यसपछि विश्वकप छनोट खेल्न अर्जेन्टिनाको राष्ट्रिय टोलीमा पुगेका थिए । विश्वकप छनोटको बोलिभियाविरुद्ध भएको खेलमा गत साता अर्जेन्टिनाले ३–० गोलको जित निकाल्दा मेस्सीले ह्याट्रिक नै गरेर चर्चा कमाएका थिए ।

त्यसो त अर्जेटिनी स्टार मेस्सीले विगत ४१ महिनाको अन्तरालमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक गरेको यो नै पहिलो अवसर हो । मेस्सीले अन्तिम पटक सन् २०१८ को मेमा हाइटीविरुद्ध भएको मैत्रिपूर्ण खेलमा ४ गोल गरेका थिए । त्यस्तै सन् २०२० को फेब्रुवरीमा क्लब फुटबल प्रतियोगितामा पनि उनले ४ गोल गरेका थिए ।


अहिले पीएसजीमा मेस्सीलाई भित्र्याएसँगै युरोपियन च्याम्पियन लिगको उपाधी दावेदारको रुपमा हेरिएको छ । । यतिबेला पीएसजीका अग्रङ्क्तिका तीन खेलाडी मेस्सी, नेमार र केलियन एमबाप्पेको ‘कम्बिनेसन’ लाई महत्वका साथ हेरिएकोे छ । नयाँ क्लबमा प्रवेश गरेपछि मेस्सीले एक खेलमात्र खेलेका छन् । घरेलु लिगको त्यस खेलको दोस्रो हाफमा मात्रै मेस्सीलाई मैदान प्रवेश गराइएको थियो ।

सन् २०१९/२० सिजन पीएसजी च्याम्पियन लिगको फाइनल पुगे पनि उपाधि भिडन्तमा बायर्न म्युनिखसँग स्तब्ध भएको हुँदा सन् २०१२ यता पीएसजीले सात पटक घरेलु लिग, ६ पटक कोप डे फ्रान्स र ६ पटक कोप डे लिग जितेको छ । ८ पटक ट्रफी डेस च्याम्पियन्स पनि हात पारेको छ । यसपटक पीएसजीले युरोपियन च्याम्पियन लिग जितेर इतिहास रच्ने दाउमा मेस्सीलाई लिएर मैदानमा उत्रँदैछ ।

तर ४ पटक युरोपियन च्याम्पियन्स लिग जितेका मेस्सीले सन् २०१४/१५ यता यो प्रतियोगिता जित्न भने सकेका छैनन् । मेस्सी च्याम्पियन लिगको इतिहासमा दोस्रो सर्वाधिक गोलकर्ता हुन् । मेस्सीले एक सय ४९ खेल खेल्दै एक सय २० गोल गरिसकेका छन् । अब यो सिजनमा पनि उनले गोल थप्ने पक्का छ । उनीभन्दा अगाडि रहेका पोेर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोको नाममा एक सय ३६ गोल रहेको छ ।

प्रतियोगिताको इतिहासमा मेस्सी र रोनाल्डोले समान ८ पटक ह्याट्रिक गरेका छन् । त्यसो त सन् २०१८ यता मेस्सीले च्याम्पियन्स लिगमा ह्याट्रिक गर्न सकेका छैनन् । यद्यपि, मेस्सी र रोबर्ट लेवान्डोस्कीले मात्र च्याम्पियन्स लिगमा एकपटकभन्दा बढी एकै खेलमा कम्तिमा चार गोल गरेका थिए ।