काठमाडौं – काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने सम्पदाको दिगो संरक्षणमा समस्या हुने बताउनुभएको छ । वडा नं १२ मा पुखुसी महादेव मन्दिरको उद्घाटन गर्दै उहाँले, मूर्त सम्पदालाई जीवन्त बनाउन अमूर्त सम्पदासँग र यसको प्रवर्धनका लागि पर्यटनसँग सम्बन्ध जोड्न जरुरी रहेको बताउनुभएको हो ।

‘सांस्कृतिक पर्यटनबाट सम्पदा क्षेत्रको व्यवस्थापनका लागि आवश्यक पर्ने रकम सङ्कलन हुने र स्थानीयको आयमा वृद्धि हुने भएकोले सम्पदा क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्छ ।’ शाक्यले, पहिले बैङ्कले ऋण नदिने ठाउँमा अहिले ऋण दिन थालेको बताउँदै सानातिना प्रयासबाट गरिने परिवर्तनले समृद्धि ल्याउने बताउनुभयो ।

त्यसै क्रममा वडा नं १२ का अध्यक्ष विकास डङ्गोलले, पुखुसी महादेवको चर्चा फैलिँदै गएको उल्लेख गर्नुभयो भने वडा नं २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्यले विकासको विरोध गर्नेहरुको पहिचान गर्ने बेला आइसकेको उल्लेख गर्नुभयो । मन्दिर वडाले पुर्ननिर्माण गराएको हो ।

उपाकु, पचली भैरवको जात्रा, गथु प्याखँजस्ता जात्रा र सांस्कृतिक उत्सवहरुमा यो महादेवको मन्दिरको परिक्रमा गर्ने चलन छ । यो मन्दिर कति पुरानो हो भन्ने शिलालेख भेटिएको छैन । स्थानीय निरोज खड्गीका अनुसार ०३९ साल अघिसम्म सडकका किनारामा शिवलिङ्ग थियो । सडक विस्तार हुँदै गएपछि यो सडकको विचतिर पुग्यो । यसपछि मन्दिर बनाइयो र नन्दी स्थापना गरियो ।