सिमकोट – विद्युत आपूर्ति नहुँदा जुम्लास्थित नेपाल टेलिकमको सेवा प्रभावित भएको छ । विद्युत अवरुद्ध हुँदा जेनेटर सञ्चालन गरे पनि टेलिकमको सेवा प्रभावकारी नभएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । विद्युत आपूर्ति बन्द हुँदा सेवा सुचारु राख्न टेलिकमलाई महंगो इन्धन प्रयोग गरेर जेनेरेटर चलाउनुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर सेवाग्राहीले गुणस्तरीय सेवा पाउन सकेका छैनन् ।

सेवाग्राही लोकेन्द्र रावतले तीन दिनयता नेपाल टेलिकमका सबै सेवा प्रभावकारी हुन नसकेको गुनासो गरे। उनले मोबाइल नेटवर्क कमजोर हुँदा घण्टी गएको सुनिए पनि कुराकानी नहुने समस्या रहेको बताए । ‘इन्टरनेट पनि निकै सुस्त छ’, रावतले भने । हिल्दुम साना जलविद्युत आयोजना बन्द भएकाले विद्युत आपूर्ति बन्द छ । विद्युत आपूर्ति नभएकाले जेनेटर सञ्चालन गरेर भए पनि सेवा दिइएको टेलिकम हुम्ला शाखाका लाइनम्यान रामबहादुर भण्डारीले बताए । तर सेवा गुणस्तरीय नभएको उनले स्वीकार गरे। टेलिकमले एडीएसएल र मोबाइल नेटवर्क सञ्चालन गर्न बिहान र बेलुकाको सयम जेनेटर चलाउँदै आएको छ ।

‘विद्युत नभए पनि बन्द रहेको मोबाइल तथा एडीएसएल सेवा सुचारु गर्न जेनेटर चलाएका छौँ’, उनले भने, ‘विद्युत आपूर्ति बन्द भएदेखि बिहान ६ देखि ९ बजे र बेलुका ५ देखि ७ बजेसम्म जेनेटर चलाएर सेवा प्रदान गर्दै आएका छौँ ।’ शाखामा मोबाइल टावरकै लागि सोलार जडान गरिएको छ तर घाम नलाग्दा सोलारले काम नगर्ने भएकाले साढे तीन सय प्रतिलिटर मूल्य पर्ने इन्धन खरिद गरेर सेवा सुचारु गर्दै आएको छ । जेनेटर चलाउनुपर्ने भएपछि टेलिकमले राती ९ बजेपछि फोर जी, एडीएसएल र मोबाइल सेवा बन्द गर्दै आएको छ । हिल्दुम वितरण केन्द्रका विद्युत सेवा बन्द हुँदा सबैतिरका सेवाग्राही मर्कामा पर्दै आएका छन् ।