मुल्लाह अब्दुल गनी बरादर, फाइल तस्वीर

अफगानिस्तान – सत्ताको विषयलाई लिएर अफगानिस्तानमा तालिवानी नेतृत्वबीच टकराव सुरु भएको सार्वजनिक भएको छ । तालिवानका सह–संस्थापक नेता मुल्लाह अब्दुल गनी बरादर र मन्त्रिपरिषद्का एक सदस्यबीच विवाद भएको थियो । अन्तरिम सरकारका उप–प्रधानमन्त्री बरादर र शरणार्थीसम्बन्धी मन्त्री खलिल उर–रहमान हक्कानीबीच भनाभन भएको हो । सह–संस्थापक नेता बरादरीले आफूसहितका कतारमा रहेका नेताहरुको कूटनीतिक पहलका कारण सफलता मिलेको बताइरहेको बेला शरणार्थीसम्बन्धी मन्त्री हक्कानीले भने सैन्य बलबाट अफगानिस्तान कब्जा गर्न सफल भएका बताएका थिए । उनीहरुका समर्थकहरुले पनि आपसमा झगडा गरेको बताइएको छ ।

उनीहरुबीच हक्कानी नेटवर्कका प्रमुख सदस्यमध्येका खलिल र बरादरबीच अफगानिस्तानमा तालिबानको सफलताको जस कसले लिने भन्ने विषयमा गम्भीर विवाद भएको स्रोतले जानकारी गराएकोे बीबीसीले समाचारमा उल्लेख गरेको छ । शीर्ष नेतृत्वबीच देशको राज्य सञ्चालन लगायत शक्ति बाँडफाँडका विषयमा पनि गम्भीर मतभेद उत्पन्न भएको हुनसक्ने अनुमान गरिएको छ । पछिल्ला दिनहरुमा सह–संस्थापक नेता बरादर सार्वजनिक रुपमा नदेखिएपछि तालिवानको नेतृत्वमा विवाद रहेको अनुमान गरिएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उधृत गरे अनुसार अघिल्लो साताको अन्त्यतिर तालिवानी शीर्ष नेतृत्वहरुबीच अफगानिस्तानको राष्ट्रपति भवनमा भएको बैठकको क्रममा गम्भीर रुपमा चर्काचर्की भएको थियो । उनीहरुबीच नेतृत्वमा विवाद भएको हुनसक्ने बताइएको छ । गम्भीर विववाद भएपछि सह–संस्थापक नेता मुल्लाह अब्दुल गनी बरादर सार्वजनिक रुपमा बाहिर नदेखिएको र उनको कुनै कारणले मृत्यु हुनसक्ने आशङ्का पनि गर्न थालिएको छ ।
तालिवानी शीर्ष नेतृत्व बीचको विवादका बारेमा आधिकारिक रुपमा पुष्टिभने हुन सकेको छैन । तालिवानीले आफुहरुबीच कुनै विवाद नभएको दावी गर्दै सह–संस्थापक बरादर सकुशल रहेको भनेको छ ।