एजेन्सी – क्यारेबियन मुलुक हैटीका राष्ट्रपतिको हत्यामा त्यहाँका प्रधानमन्त्री मुछिएपछि उनलाई देश छाड्न रोक लगाइएको छ । दुई महिनाअघि भएको राष्ट्रपति जोभेनल मोइसेको हत्या अनुसन्धान गरिरहेका अधिकारीहरूले शङ्काको सुई प्रधानमन्त्री एरियल हेनरीतर्फ सोझिएको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रमुख अनुसन्धानकर्ताले एकजना न्यायाधीशलाई प्रधानमन्त्री हेनरीलाई राष्ट्रपतिको हत्यामा संलग्न भएको अपराधमा मुद्दा चलाउन चिठी लेखेका छन् । उनले हैटीको अध्यागमन कार्यालयलाई लेखेको पत्रमा प्रधानमन्त्री हेनरीलाई देश छोड्न नदिन भनिएको छ । प्रधानमन्त्री हेनरीलाई हत्याका मुख्य सन्दिग्ध जोसेप फेलिक्स बाडिओसँगको सम्बन्ध स्पष्ट पार्न भनिएको छ । रेकर्डहरूका अनुसार ती दुईबीच हत्यापछि पटक–पटक टेलिफोन संवाद भएको देखिएको छ ।

राष्ट्रपति जोभेनल मोइसेलाई गत जुलाई ७ तारिखमा आफ्नै निवासमा बन्दुकधारीहरूले आक्रमण गरेका थिए । आक्रमणकारीका रूपमा आरोपितमध्ये ४४ जनालाई पक्राउ गरिसकिएको छ । ती मध्ये १८ जना कोलम्बियाका अवकाश प्राप्त सैन्य अधिकारी रहेको बताइएको छ । तीनजना सन्दिग्ध हमलाकारीको प्रहरीसँगको भिडन्तमा ज्यान गएको थियो । घटनामा संलग्नताबारे प्रधानमन्त्री हेनरीले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।