बुटवल – नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका सदस्य रुपन्देहीका पत्रकार बिन्दुकुमार चौहानको मृत्यु भएको छ । निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको मंगलबार राति युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा मृत्यु भएको हो ।

तीन दिनअघि निमोनिया देखिएपछि चौहानलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएकोमा अवस्था गम्भीर भएसँगै मेडिकल कलेजमा भर्ना गरिएको पत्रकार महासङ्घ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले जानकारी दिनुभयो ।

चौहान नेपाल पत्रकार महासङ्घ रुरुपन्देहीका पूर्वकार्यसमिति सदस्य हुन् । दुई दशकदेखि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेर पत्रकारिता गर्दै आएका चौहानका श्रीमती, चार छोरा र तीन छोरी रहेका छन् । चौहानको निधनप्रति नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समिति र रुपन्देही शाखाले दुःख व्यक्त गरेको छ ।