पत्रपत्रिकाबाट
फाइल तस्वीर

काठमाडौं — दसैं नजिकिँदै गएपछि अग्रिम टिकट बुकिङ खुलाउनेबारे सरकारी निकाय र यातायात व्यवसायीबीच छलफल सुरु भएको छ । यही भदौ २१ मा प्रधानमन्त्री कार्यालयमा दसैंका लागि अग्रिम टिकट खुलाउनेबारे छलफल गरिएको थियो । छलफलमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले असोज दोस्रो साताबाट अग्रिम बुकिङ खुलाउन प्रस्ताव गरेका थिए । तर यसबारे औपचारिक निर्णय भने भइनसकेको विभागले जनाएको छ ।

आगामी शुक्रबार छलफल गरेर यसबारे निर्णय लिइने घिमिरेले जानकारी दिए । ‘दसैंभन्दा १०/१५ दिनअघिको समय राखेर अनलाइन बुकिङ खुला गर्न भनेका हौं,’ उनले भने । यातायात व्यवसायीसँग बैठक बसेर यसबारे छिट्टै निर्णय लिइने उनले बताए । कोभिडको जोखिम कायमै रहेकाले भीड कम गराउन यात्रु चढ्ने र झर्ने ठाउँको संख्या बढाइनेछ ।

सबै सवारीलाई स्वास्थ्य सावधानी अनिवार्य गरिने पनि उनले जानकारी दिए । काउन्टरमा भीड कम गराउन अनलाइन टिकेटिङमार्फत बुक गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ । सिट क्षमताभन्दा बढी यात्रु बोक्न निषेध गरिनेछ ।

दसैंलाई गाडीको टिकट बुकिङका विषयमा राम्रो तयारी गरेर मात्र निर्णय लिनुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘प्रदेश र स्थानीय तहमा सञ्चालन हुने सार्वजनिक सवारीमा भाडा समायोजनका कुरा मिलिसकेका छैनन्,’ उनले भने, ‘लामो दूरीका सवारीमा भाडा समायोजन गरिए पनि प्रदेश र स्थानीय तहमा टुंगो लागिसकेको छैन ।’ चाडबाडअघि नै यसबारे सम्बन्धित प्रदेशहरूले निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

‘सरकारको प्रस्ताव असोज दोस्रो सातालाई छ,’ सिटौलाले भने, ‘तर यसबारे निर्णय लिन यात्रुको चाप पनि हेर्नुपर्छ ।’ सामान्यतया दसैंको घटस्थापनाबाट बढी यात्रु बाहिरिन थाल्छन् । (कान्तिपुर दैनिक बाट)