काठमाडौं – विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आजदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरसको सङ्क्रमणदर तीव्र गतिमा बढेको भन्दै फेरि स्थगित गरिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले पुनः विद्यार्थीहरुलाई भौतिक रुपमै उपस्थित गराएर आजदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । परीक्षा केन्द्रमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न बोर्डले अनुरोध समेत गरेको छ । परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।

यसपटकको कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । भौतिक रुपमै परीक्षा सञ्चालन हुने भएपछि सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप पनि दिएको छ ।