काठमाडौं – देशभरको मौसममा आज पनि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदलीसहित प्रदेश २, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज राति पनि देशभर सामान्य बदली रही लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार हाल नेपालमा भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको छ ।

देशको धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएको हुँदा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।