बुटवल – लुम्बिनीमा सरकार बनेको एक महिनापछि जनता समाजवादी पार्टीका दुई विना विभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगाले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

सरकारका प्रवक्ता कृष्णध्वज खड्काको सचिवालयले दुई विना विभागीय मन्त्रीलाई मन्त्रालयको कार्यविभाजन गरिएको पुष्टी गरेको छ । गत साउन २८ गते नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त हुँदाका दिन नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका एक–एक जना, जसपाका तीनजना र स्वतन्त्र सांसद अजय शाही मन्त्रीलाई नियुक्त गरिएको थियो ।

ती मध्ये जसपाका रायमाझी र ढेंगा तथा स्वतन्त्र सांसद शाही विना विभागीय मन्त्री नियुक्त हुनुभएको थियो । यसअघि मुख्यमन्त्री केसीले शाहीलाई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । अब बन्ने मन्त्रीहरुमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रबाट तीन/तीनजना मन्त्री र एक–एकजना राज्यमन्त्री नियुक्त गर्ने सहमति भएको छ । तर दुवै पार्टीमा आकाङ्क्षी धेरै हुँदा मन्त्री छान्न सकस भएको छ ।