सिके राउत, फाइल तस्वीर

जनकपुर– जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ । सिके राउत नेतृत्वको उक्त पार्टीको विस्तारित बैठक आज अपरान्हदेखि जनकपुरमा सुरुहुन लागेको हो । पार्टीको विस्तारित बैठक पार्टीको भावि कार्यदिशा, सङ्गठन विस्तार, देशको समसामयिक राजनीतिक गतिविधि, भावि निर्वाचन जस्ता विषयमा केन्द्रीत हुने उक्त पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिनुभएको छ ।

तराईं मधेसलाई छुट्टै देश बनाउने विवादास्पद अभिव्यक्ति दिएका सिके राउतले आफु देशको मुलधारको राजनीतिमा आउने बताएपछि उनी शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका थिए । विखण्डनकारीको आरोप खेपेका सिके राउतले तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारसँग लामो छलफल, सम्वाद र सहमतिपछि मुलधारको राजनीतिमा आउने प्रतिवद्धता व्यक्त गरेका थिए । सरकार र राउतबीच २०७५ फागुन २४ गते राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा राजनीतिक सहमति भएको थियो । जनकपुरमा पार्टीको केन्द्रीय कार्यालय रहेको सिके राउत नेतृत्वको जनमत पार्टीले आगामी निर्वाचनमा भाग लिने रणनीतिक योजनाको तयारीमा छ ।

अहिले जनकपुरमा उक्त पार्टीको कार्यकारिणी समितिको बैठक बसिरहेको छ । कार्यकारिणी समितिको बैठक सकेपछि अपरान्ह केन्द्रीय समितिको विस्तारित बैठक बस्ने भएको छ । उक्त विस्तारित बैठकमा केन्द्रीय सदस्यलगायत भातृ सङ्गठनका प्रतिनिधिहरू सहभागी हुने छन् । महासचिव सिंहका अनुसार कार्यकारिणी समितिको बैठकले विस्तारित बैठकका लागि छलफलको मुख्य एजेण्डा तयार गर्ने छ ।