काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले गण्डकी प्रदेश कमिटी गठन गरेको छ । प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार बसेको बैठकले तुलबहादुर गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो ।

पूर्व मन्त्री समेत रहनुभएका नेता गुरुङ इमानदार र निष्ठावान नेताका रुपमा चिनिनुहुन्छ । गुरुङ अनेरास्ववियुको दुई कार्यकाल केन्द्रीय अध्यक्ष भइसक्नुभएका पुराना नेता हुनुहुन्छ । उहाँको नेतृत्वमा समाजवादीले गण्डकी प्रदेशमा गतिशील सङ्गठन निर्माण गर्ने अपेक्षा गरिएको छ ।

प्रदेशको सचिवमा प्रतापलाल श्रेष्ठ र उपसचिव श्रीनाथ बराल हुनुहुन्छ । गण्डकी प्रदेश साविक धौलागिरी अञ्चल र गण्डकी अञ्चल मिलेर बनेको हुँदा २ उपाध्यक्ष र १ उपसचिव पद हाललाई खाली राखिएको छ । साथै बैठकले १० बुँदे ठोस कार्यक्रमका साथ युद्धस्तरमा कमिटीहरु निर्माण गर्ने र पार्टी जीवनलाई व्यवस्थित बनाउने निर्णय पनि गरेको छ ।