काठमाडौं– क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको खेलमा नेपालले अमेरिकालाई हराउन सफल भएको छ । नेपालले ओमनस्थित अल अमरेत स्टेडियममा सोमबार भएको खेलमा अमेरिकामाथि पाँच विकेटको जित दर्ता गराएको हो ।
टस जितेर ब्याटिङ सुरु गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै नेपाललाई २ सय ३० रनको चुनौती दिएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले रोहित पौडेल र कुशल भुर्तेलको अर्धशतकको मद्दतबाट ४९ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।

अमेरिकाका लागि मोनाङ्क पटेलले १ सय १४ बलमा ९ चौका र १ छक्काको सहायतामा १०० रन जोड्दै शतकीय पारी खेले । नेपालका लागि सन्दीप लामिछाने, शुसन भारी र विक्रम सोबले २–२ विकेट लिन सफल हुँदा कुशल भुर्तेल र आशिफ शेखले ६६ रनको कीर्तिमानी साझेदारी गरे । नेपालको तर्फबाट एकदिवसीय क्रिकेटमा उनीहरुले पहिलो विकेटका लागि सबैभन्दा लामो साझेदारी गरे ।

कुशलले ८४ रन बनाउँदा रोहित पौडेल ६२ रनमा अभिजित रहे। त्यस्तै विनोदले ३७ रन बनाउँदा आशिफ शेखले २३ र कप्तान ज्ञानेन्द्र मल्लले १७ रन बनाए । नेपालले यसरी अमेरिकामाथि विजय प्राप्त गरेका थियो । नेपालले आज मङ्गलबार ओमन विरुद्ध खेल्दै छ ।