अफगानिस्तान– तालिवानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएपछि बाँकी रहेको एक राज्य पन्जशिर उपत्यकामाथि कारवाही गर्दा त्यहाँका स्थानीय बासिन्दाको हत्या गरेको छ । तालिवानले पन्जशिर उपत्यकामा कम्ति पनिमा २० जना सर्वसाधारणको हत्या गरेको सार्वजनिक भएको छ ।
पन्जशिर नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) को अखडा मानिन्छ । तालिवान लडाकुहरुले पन्जशिरलाई आफ्नो नियन्त्रणमा लिने क्रममा एनआरएफ र तालिबान लडाकुबीच दोहोरो भिडन्त हुँदै आएको छ । तालिवानले पन्जशिर उपत्यकालाई आफ्नो नियन्त्रणमा लिनका लागि त्यहाँको सञ्चार सम्पर्क विच्छेद गर्नुको साथै कम्तिमा २० जना सर्वसाधारणको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
पन्जशिरको सडकमा सैन्य पोशाक लगाएका एक व्यक्तिलाई तालिवान लडाकुले घेरेको र उनीमाथि गोली प्रहार गरी हत्या गरेको एक भिडियो क्लिप समेत सार्वजनिक भएको छ । मारिएका ती व्यक्ति सेना हुन् या होइनन् भन्ने खुलाइएकोे छैन । भिडियोमा स्थानीय बासिन्दाहरुले ती व्यक्ति सर्वसाधारण रहेको बताएका छन् । मारिनेमा व्यक्ति अब्दुल सामी नामका हुन् तालिवानले पन्जशिर उपत्यकालाई नियन्त्रणमा लिनेक्रममा अघि बढ्दै गर्दा ती व्यक्तिले आफू सामान्य पसले रहेको र युद्धसँग कुनै सरोकार नरहेको बताएको समाचारमा जनाइएको छ । तालिवान लडाकुले उनको हत्या गरेको हो ।
अफगानिस्ताको पन्जशिर उपत्यका, फाइल तस्वीर
मारिएका ति पसलेले एनआरएफका लडाकुलाई सिमकार्ड बेचेको भन्दै तालिवानले आफ्नो कब्जामा लिइ केही दिनपछि उनको हत्या गरी घर नजिक ल्याएर शव फालिएको समाचारमा जनाइएको छ । प्रत्यक्षदर्शीका अनुसार उनलाई गम्भीर यातना दिएर मारिएको बताएका छन् ।
तालिवानले अघिल्लो महिना अगस्ट १५ तारिखमा अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिए पछि त्यहाँ तालिवानको शासन चलेको छ । पन्जशिरबाहेक काबुलसहित देशका सबै प्रान्तीय शहरहरुलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।
अहिले तालिवानले पन्जशिरलाई पनि आफ्नो नियन्त्रणमा लिने प्रयत्न गरिरहेको छ । गत हप्ता तालिवानले पन्जशिरलाई आफ्नो कब्जामा लिएको भन्दै विजय प्राप्त गरेको घोषणा गरेको थियो । तर नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) ले भने तालिवान विरुद्ध आफ्नो लडाइं जारी राख्ने बताएको छ । यही अनुरुप तालिवानले पछिल्लो समय २० जना सर्वसाधारण नागरिकको हत्या गरेको छ ।