सिन्धुपाल्चोक – नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जिल्लाका बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति बनाउनुपर्ने बताएका छन् । ‘विपद्मा कांग्रेसको भूमिका’ विषयमा सोमबार मेलम्चीमा आयोजित छलफल कार्यक्रममा उनले बाढी प्रभावितलाई आफ्नो पार्टीले निरन्तर सहयोग जारी राखेको बताउनुभयो ।

उहाँले राजनीतिक दलको पहिलो कर्तव्य जनता जोगाउनु रहेको जनाउँदै नेता बन्न खोज्नेले जनताका लागि सोच्नुपर्नेमा जोड दिनुभयो । “हेलम्बु, मेलम्चीका स्थानीयवासीले बाढीको पीडा भोगेका छन् उनीहरुका लागि हामीले सोच्नुपर्छ”, विपद् व्यवस्थापन समितिका संयोजक उहाँले भन्नुभयो, “बाटोघाटो, पुल पुलेसा निर्माण तत्काल गर्नुपर्ने र पीडित स्थानीयवासीका लागि दीर्घकालीन कार्ययोजना बनाएर सहयोग गर्नुपर्दछ ।” रासस