काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८ दशमलव ५ प्रतिशत ‘आरबीबीएल डिबेन्चर २०८३’ नामको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी हिजो सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालले हस्ताक्षर गर्नुभएको हो । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदरको कुल २ अर्ब ५० करोड रुपैयाँ (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र जेठ २८ गतेदेखि असार ८ गतेसम्म बिक्री गरेको थियो। यस ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ ।

उक्त सम्झौतापत्र आदानप्रदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतद्वय सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख पवन रेग्मी, नेपाल स्टक एक्सचेन्जका प्रविन पन्दाक, भेष लराज खनाल, आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेललगायत सहभागी रहनुभएको थियो ।