फाइल तस्वीर: मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

हेटौंडा– बागमती प्रदेशमा सरकार परिवर्तन गर्ने विषयले पुनः प्रवेश पाएको छ । मुख्यमन्त्री बनेको महिना दिन नपुग्दै अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ । एमाले चोइटिएपछि बागमती प्रदेशसभामा नेकपा एकीकृत समाजवादी दर्लले प्रवेश पाएसँगै केन्द्रीय तहमा बनेको गठबन्धनको प्रभाव बागमती प्रदेशमा देखिंदा सरकार परिवर्तन गर्ने गृहकार्य सुरु भएको हो ।

नेकपा एमालेले पार्टी भित्रको विवाद मिलाउनलाई बागमती प्रदेशको मुख्यमन्त्रीबाट डोरमणि पौडेललाई हटाएर एमालेकै असन्तुष्ट पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यलाई एमाले भदौ २ गते बागमती प्रदेशसभा संसदलको नेता र मुख्यमन्त्री बनाएको थियो । एमाले पार्टी विभाजन भएर मावधकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल गठन भएपछि त्यहाँ एमालेका १३ जना प्रदेशसभा सदस्यहरुले एकीकृत समाजवादी पार्टी रोजे । त्यसपछि गठबन्धन दलहरुले अहिले सरकार परिर्वतनको गृहकार्यलाई अगाडि बढाएका छन् ।

मुख्यमन्त्रीले अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनसक्ने आधार कमजोर बन्दै गइरहेका बेला सरकार परिवर्तनको लागि गठबन्धन दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी मिलेर सत्ता परिवर्तन लागि गृहकार्य सुरु गरेका हुन् । निर्वाचन आयोगको पत्र दर्ता हुनासाथ आइतबार नै प्रदेशसभा सचिवालयले नेकपा एकीकृत समाजवादीलाई दलको कार्यालय उपलब्ध गराएको थियो भने उक्त कार्यालयमा सो पार्टीको पहिलो प्रदेशसभा संसदीय दलको बैठकसमेत बसेको थियो । बैठकले दलको नेतामा राजेन्द्र पाण्डेलाई नियुक्त गर्नुको साथै एमालेको सरकारलाई समर्थन नरहेको निर्णय गरेको थियो ।

नेकपा नेकपा समाजवादीले बागमती प्रदेश सरकारलाई आफ्नो समर्थन नरहेको भन्दै बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख सानुकुमार श्रेष्ठ र संसद् सचिवालयमा दर्ता गराएको थियो । नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारलाई समर्थन नगर्ने सो दलको निर्णयसँगै बागमती प्रदेश सरकार अल्पमतमा परेको छ ।

बागमती प्रदेशसभामा एमालेको ५६ प्रदेशसांसदका साथ नेपालको संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत प्राप्त दलको तर्फबाट सरकारको नेतृत्व गरेकी मुख्यमन्त्री शाक्यको पार्टी एमाले विभाजन पछि ४३ सांसदमा खुम्चिएको भएको छ । एमालेका १३ जना सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेपछि सरकार अल्पमतमा परेको हो । बागमती प्रदेशमा सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक हुन्छ । बागमती प्रदेशसभामा प्रदेश सांसदको कुल सङ्ख्या १ सय ९ रहेको छ ।

अहिले बागमती प्रदेशसभामा नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काङ्ग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना, विवेकशील साझा पार्टीका ३ जना, नेमकिपाको २ जना, राप्रपाका २ जना र जसपा निकटका १ जना सांसद् रहेका छन् । गठबन्धन चार दलका मात्रै बागमती प्रदेशसभामा सांसद सङ्ख्या ६० जना रहेको छ ।