काठमाडौं – नेपाल राष्ट्र बैंकले यो वर्ष दशैं आउनुभन्दा एक महिनाअघि नै नयाँ नोट सटहीको सुविधा दिएको छ । तर यसअघिका वर्षमा जस्तो राष्ट्र बैंकको थापाथली वा बालुवाटार कार्यालयबाट नोट सटहीको काम भने हुने छैन । गत वर्ष कोरोना महामारीका कारण नोट सटहीको सुविधा रोकेपछि राष्ट्र बैंकले अव स्थायी रुपमै आफ्नो केन्द्रिय र क्षेत्रीय कार्यालयमार्फत् नयाँ नोट साट्ने सुविधा बन्द गरेको हो । अब बैंक तथा वित्तीय संस्थाले यस्ता नोट सटहीको जिम्मा पाउने छन् । दशैंमा नयाँ नोट साट्ने प्रचलन नेपालमा लामो समयदेखि चल्दै आएको छ । यही कारण यो वर्ष पनि गत सातादेखि नै बैंकहरुलाई नयाँ नोट उपलब्ध गराउन थालिएको राष्ट्र बैंकले जनाएको छ ।

गत वर्ष सफा नोट अर्थात् केही नयाँ र केही प्रयोगमा आईसकेका नोट बैंकमार्फत् वितरण गरेको राष्ट्र बैंकले यो वर्ष भने पुरै नयाँ नोट बजारमा पठाएको छ । राष्ट्र बैंकले सामान्य समयमा पनि नयाँ नोट बजारमा पठाउँछ । तर सबैभन्दा बढी नयाँ नोट पठाउने काम चाहीँ दशैंको बेलामा हुन्छ । राष्ट्र बैंकले ठूलो भिडभाड नहोस् भनेर आफ्ना काउण्टरहरुको साटो बैंक तथा वित्तीय संस्थामा नगद वितरण गर्न थालेको हो । राष्ट्र बैंकले अहिले नै पैसा दिएको भए पनि बैंकहरुले भने ग्राहकलाई पैसा बाँडेका छैनन् । बैंक तथा वित्तीय संस्थाले अहिले नयाँ नोट मौज्दात गरेर राखेका छन् । औपचारिक वितरण भने घटस्थापनादेखि गर्ने बैंकरले बताएका छन् । यद्यपि, माग्न आउने आफ्ना नियमित ग्राहकलाई भने अहिले पनि उपलब्ध गराइरहेको बैंकर बताउँछन् ।

राष्ट्र बैंकले बैंकहरुको एउटा शाखालाई कम्तिमा ५ करोड बराबरका दरले नयाँ नोट उपलब्ध गराएको छ । विकास बैंकलाई ४ करोड र फाइनान्सलाई २ करोड बराबरको नोट उपलब्ध गराएको छ । सरकारले निषेधाज्ञा हटाए पनि कोरोना सङ्क्रमणदर भने कायमै छ । यस्तो अवस्थामा राष्ट्र बैंकले वितरण गर्ने र बैंकहरुले साट्ने समय उस्तै उस्तै पर्छ भनेर यसपाली बेलैमा व्यवस्थापन गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट बैंकहरुलाई उपलब्ध गराएको छ । बैंकहरुले प्रतिग्राहक १८ हजार ५ सइ रुपैयाँसम्म सटही सुविधा उपलब्ध गराउन सक्ने छन् ।