पोखरा – नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव पृथ्वीसुब्बा गुरुङले पार्टी फुटेको नभई पिलो फुटेर पिप बगेकाले कार्यकर्तालाई चिन्ता नलिन आग्रह गर्नुभएको छ । हिजो आइतबार दमौलीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरुङले, ‘पार्टी फुटेको होइन, एमालेमा भएको पिलो फुटेको मात्रै हो । माओवादी केन्द्रसँगको एकता टुटेपछि एमालेमा उत्पन्न भएको पिलोको पिप फुटेर गएको हो । अब सन्चो भएको छ । नेकपा एमाले स्वच्छ बन्छ, भन्नुभएको छ ।’

गण्डकीमा १ हजार ७ सय ६० मध्ये ३८ जना पिलोको पिप भएर बगेर गएको उहाँको भनाइ थियो । विभिन्न पदको लोभ देखाई झुक्याएर एकीकृत समाजवादीमा लागेकाहरु भन्दै उहाँले फेरि आफ्नै घरमा फर्किने विश्वास व्यक्त गर्नुभयो ।

एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले आगामी निर्वाचनमा जितेर एमालेले फेरि पनि सरकार बनाउने र विकास तथा समृद्धिको नेतृत्व गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘ एमाले कम्युनिस्ट आन्दोलन र राजनीतिको प्रमुख धारसँगै नेपालको विकासको अभियन्ता पनि हो । सिद्धान्त र उद्देश्यबिनाको नेकपा एसले हामीलाई केही असर गर्न सक्दैन ।’