मनाङ – हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट विच्छेद भएको छ । जेठ १४ र असार १ गते आएको बाढीपहिरोेका कारण मनाङ पूर्णरूपमा सडक सञ्जालबाट टाढिएको हो । डुम्रे–बेंसीसहर–चामे सडकखण्ड बाढीपहिरोले सवारी सञ्चालन पूर्णरूपमा अवरुद्ध छ भने मानिस आवतजावत गर्न सक्ने अवस्थासमेत छैन ।

अवरुद्ध सडक सञ्चालन गर्न निर्माण कम्पनीले सम्झौता गरे पनि हालसम्म सुरु नै भएको छैन । सडक मर्मत तथा सम्भार र निर्माणको काम नथालिँदा आवतजावतका साथै सामग्री ढुवानीमा समस्या भएको स्थानीयको भनाइ छ । निर्माण कम्पनीले दुई महिनामा सडक निर्माण गरी सामग्री ढुवानी र आउजाउलाई सहज बनाउने उद्देश्यले सम्झौता गरेअनुरूप निर्माण नहुँदा स्थानीयवासी निरास बनेका छन् ।

असार १ गते आएको बाढीपहिरोले सडकका धेरै स्थानमा क्षति पु¥याएको छ । केही ठाउँमा सडकको निसानसमेत मेटिएको छ। छिटो निर्माण गरिने भनिएको सडकको हालसम्म पनि निर्माण थाल्न सकिएको छैन । सडक निर्माणका लागि उत्तरगया कन्स्ट्रक्सन प्रालिसँग सडक डिभिजन कार्यालयले साउन पहिलो साता सम्झौता गरेको थियो । सम्झौताअनुसार काम नहुँदा सम्बन्धित निकायले चासो दिए पनि काम अगाडि नबढ्दा जिल्लावासी चिन्तित बनेका छन् ।

‘सम्झौताअनुसार सडक निर्माणको समय सकिने अवस्था आइपुगेको छ तर निर्माण कम्पनीले अझै काम थालेको छैन, स्थानीयको आशा निराशामा परिणत भएको छ’, प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भने, ‘समयमा काम नथालिए निर्माण कम्पनीलाई कारबाही गर्छौं ।’ पटकपटक छिटो काम अगाडि बढाउन दबाब दिइए पनि निर्माण कम्पनीले चासो नदिएको स्थानीयवासीको आरोप छ ।

निर्माण कम्पनीलाई दबाब दिइएको प्रजिअ लामिछानेले बताए। समयमा निर्माण नथाले कारबाहीको दायरामा ल्याइने उनले बताए। सडक सञ्जाल टुट्दाखेरी यहाँको भौतिक संरचना निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न र मेसिन ल्याउन नसक्दा अझ चिन्ता बढेको उनी बताउँछन् । साउन पहिलो साता दुई करोड बजेट व्यवस्थापन गरिए पनि निर्माण कम्पनीले ५० प्रतिशत कम एक करोडमा सम्झौता गरेको थियो । कम मूल्यमा बोलपत्र पारेर काम नगर्ने र स्थानीयवासीको सहजताका लागि काम गर्नुपर्ने भए पनि निर्माण कम्पनीले काम नथालेर समय थप्दै निर्माणमा ढिलाइ गर्दै आएको छ ।

निर्माण कम्पनी उत्तरगया कन्स्ट्रक्सन प्रालिका निर्देशक धनबहादुर गुरुङले कामै नथालिएको भन्न नमिल्ने र काम सुरु गरिए पनि वर्षा भइरहँदा समस्या भएको बताए । ‘झरी पर्न रोकिएको छैन, एक दिन मौसम सफा भए पनि अर्को दिन पानी पर्छ, त्यसले गर्दा एक ठाउँ सडक बन्यो भनेर अर्को ठाउँमा बनाउँदै गर्दा बनेको ठाउँको सडक भत्किन्छ, त्यसैले ढिलाइ भएको हो,’ गुरुङले भने ।

वर्षा नरोकिँदा सडक निर्माणमा ढिलाइ भएको समस्या देखाउँदै निर्माण कम्पनी पन्छिन खोजेको नासो गाउँपालिका–१ का वडाध्यक्ष झलकबहादुर गुरुङले बताए। ‘बेँसीसहरबाट नासोको प्रवेश स्थानमा आइपुग्न मुस्किल छ । सडक कहिले बन्ला र सहज होला भन्ने हामीलाई भइरहेको छ, स्थानीयवासी आफैं गएर सामग्री ल्याउन सक्ने अवस्था छैन, निर्माणका लागि दबाब दिँदादिँदै पनि मुकदर्शक बन्न बाध्य छौं जनप्रतिनिधि’, उनले भने ।

लमजुङको केही भाग निर्माण भए पनि मनाङतर्फको भागमा निर्माण थालनी भएको छैन । यसरी कम्पनीले निर्माण सम्पन्न गर्ने मितिअनुसार काम नहुने र सम्झौता थप्दै बजेट सक्ने कार्यले मनाङ सडक सञ्जालबाट लामो समयसम्म टाढा रहने देखिएको छ ।

बेंसीसहर–चामे–खाङ्सार सडक खण्ड १०७ किलोमिटर छ । उक्त सडकअन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका–१ स्थित तलेखु–भ्राताङ भीरमा सडक निर्माण भइरहेको छ । हाल बाढीपहिरोले सडकको निशान मेटिदिएपछि उक्त स्थानमा भीरको चट्टान कटान तथा बम प्रहार गरी सडक सञ्जाल निर्माण भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । रासस