काडमाडौं – महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत युवासँग महालक्ष्मी लाइफसम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको ०७८ भदौ २५ गतेको निर्णय बमोजिम असोजबाट देशव्यापी बीमा जागरण कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

दुईवर्षे यस अभियानमा ०७८।७९ भित्र २५ वटा जिल्ला र ०७९।८० मा बाँकी जिल्लामा कार्यक्रम सञ्चालन गरिनेछ । यो कार्यक्रमअन्तर्गत १६ वर्षमाथिका प्लस टु अध्ययन गर्ने विद्यालय र कलेजका युवालाई लक्ष्य गरी रोजगारका विभिन्न क्षेत्रको जानकारीका साथै बीमाबारे तालिम प्रदान गरिनेछ । ‘काम गरी आय आर्जन गर–बीमा गरी सुरक्षित बन’ भन्ने मूल विषयवस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवी र सफल अभिकर्ता तथा विज्ञले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा देशभरिका कम्पनीका वरिष्ठ अधिकृत तथा अगुवा अभिकर्ता सम्मिलित बीमा जागरण राष्ट्रिय अभियान केन्द्रीय समिति गठन गर्ने र जिल्ला जिल्लामा प्रभावकारी रूपमा बीमा जागरण कार्यक्रम सञ्चालन गर्न कम्पनीको जिल्लास्थित वरिष्ठ अधिकृतको संयोजकत्वमा जिल्ला समिति गठन गरिनेछ ।

प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनका अधिकृतहरूले कार्यक्रमको निर्धारण, सञ्चालन र अनुगमन गर्नेछन् । असोज पहिलो साता धुलिखेलमा आयोजना हुने अभिकर्ता र अधिकृतहरूको भेलाले बीमा जागरण राष्ट्रिय अभियान केन्द्रीय समितिको गठन र नामावलीको घोषणा गर्ने कार्यक्रम रहेको छ ।