काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुहरुमा यथाशीघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिनुभएको छ । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिनुभएको हो । भेइकल स्क्यानर जडान भएपछि भन्सार बिन्दुमा आवतजावत गर्ने सवारी साधनमा लोड भएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नुपर्दैन । उहाँले मालवस्तुको वर्गीकरण र मूल्याङ्कनमा इमान्दारीता कायम गरी राजश्व सङ्कलन वृद्धि गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा अर्थसचिव मधु कुमार मरासिनीले भन्सार प्रशासनले तीन ‘स’ को अवधारणामा काम गर्न आग्रह गर्नुभएको छ । सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । राजश्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमानदारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले सेवाग्राहीका गुनासाहरूलाई तत्काल सम्बोधन गर्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगहरुको संरक्षण र प्रोत्साहन गर्नेगरी नीति आएकोमा सरकारलाई धन्यवाद दिनुभयो ।