काठमाडौं – काठमाडौं उपत्यकाको पछिल्लो साता कोरोना सङ्क्रमणदरको समीक्षा गर्न सीसीएमसीको बैठक बस्ने भएको छ । निषेधाज्ञा हटाइएपछिको सङ्क्रमणदरको समीक्षा गर्न आज कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्न लागेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार सीसीएमसीको समीक्षापछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्नेछ । प्रजिअ रिजालले भन्नुभयो –‘‘पछिल्लो साताको सङ्क्रमणदर हेर्दा ३ सयको हाराहारीमा देखिएको छ । अब आज सरोकारवाला निकायसँग यसबारे समीक्षा हुनेछ । त्यसपछि सीडीओ बैठक बसेर औपचारिक आदेश सार्वजनिक गनेछौँ ।”

गत सातादेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा हटेर सामान्य अवस्थामा सबै किसिमका व्यवसायहरू सञ्चालन भइरहेका छन् । विद्यालयहरू स्थानीय तहको अनुमतिमा सञ्चालन भइरहेका छन् । आगामीे असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्ने सम्बन्धमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका पदाधिकारी र अभिभावकबीच सहमति भइसकेको छ । अब सङ्क्रमणदर हेरेर सरोकारवाला निकायसँग छलफल गर्नका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्न लागेको जनाइएको छ ।