कैलाली – नेपाली काङ्ग्रेस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उहाँको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । रक्तचापका कारण अचानक छाती दुखेपछि उनलाई उपचारका लागि सो मेडिकल कलेज पुर्याइएको थियो ।
पञ्चायतकालदेखि नै काङ्ग्रेसको राजनीतिमा लाग्नुभएका उहाँ कैलाली काङ्ग्रेसका लोकप्रिय र निष्ठावान नेता हुनुहुन्थ्यो । काङ्ग्रेसका नेतृत्वमा नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनमा तत्कालीन संविधानसभाका सदस्य उहाँको महत्वपूर्ण योगदान रहेको काङ्ग्रेसका नेता रामजनम चौधरीले बताउनुभयो । उहाँका श्रीमती तीन छोरा र तीन छोरी रहेका छन् । स्व.महतोको स्थानीय पथरैया नदी किनारको सोनपुरघाटमा आजै अन्तिम संस्कार गर्न लागिएको काग्रेसका क्षेत्रीय सभापति भक्त थापाले जानकारी दिनुभयो । रासस