काठमाडौं – देशका अधिकांश स्थानमा सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बङ्गालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । यस्तै मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको छ ।

अहिले देशको पहाडी भूभागमा सामान्य बदली र तराई भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसैबीच पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।